अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

महरा कान्ड सार्वजनिक गर्ने पत्रकार शिवाकोटीको सुरक्षाको ग्यारेण्टी गर्न माग

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:२६ मा प्रकाशित

सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर पत्रकार अजयबाबु शिवाकोटी माथी सुरक्षा थ्रेट बढेकोप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले बिहीबार एक विज्ञप्ती जारी गर्दै हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित उक्त समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव शिवाकोटी माथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । युनियनको केन्द्रीय सचिवालयको बसेको आकस्मीक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट पनि गरेको छ ।

‘नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ’ विज्ञप्तीमा भनिएको छ । समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न युनियनले प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपुर्ण छ । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो । यस तर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ ।’

पत्रकार शिवाकोटीले आफूमाथि सुरक्षा थ्रेट बढेको भन्दै प्रहरी प्रशासन, संचार सम्बद्ध संस्था तथा आम नागरिकमा गम्भीर बनिदिन आग्रह गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू