अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५४ | Colorodo: 22:09

भारतीय राजदूतावासले ५५ औँ आइटेक दिवस मनायो

बिआरटीनेपाल २०७६ असोज १४ गते १०:१५ मा प्रकाशित

भारतीय राजदूतावासले ५५ औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस (आइटेक) २०७६ असोज १३ गते काठमाडौँ मेरियट होटेलमा मनायो । उक्त समारोहमा नेपालका माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री लाल बाबु पण्डित प्रमुख अतिथिको रूपमा हुनुहुन्थ्यो । नेपालका लागि भारतका राजदूत श्री मंजीव सिंह पुरीले नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका वरिष्ठ अधिकारी एवम् अन्य कर्मचारीहरूलाई भारतका प्रमुख संस्थाहरूमा प्रशिक्षण दिन उक्त आइटेक कार्यक्रमले निर्णायक भूमिका खेलेको बताउनुभयो । यस कार्यक्रमले सीप अभिवृद्धि तथा मानव संसाधन विकासमा उल्लेख्य योगदान पुर्‍याएको छ । सो समारोहमा आइटेकका करिब १५० भूतपूर्व विद्यार्थीहरूको उपस्थिति थियो । नेपाल लगायत १६१ विकास शील मित्र राष्ट्रहरूसँग भारतको विकास मूलक अनुभव बाँड्न भारत सरकारको पूर्ण सहयोगमा ‘आइटेक कार्यक्रम’ सञ्चालित छ ।

सो समारोहमा मन्त्रालय तथा विभागका सचिव लगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा विभागले आफ्ना कर्मचारीहरूको मानव संसाधन विकासका लागि आइटेकका विभिन्न कोर्सहरूको उपयोग गर्दै आएको छ । तालिम कोर्समा कम्प्युटर, इन्जिनियरिङ, सूचना प्रविधि, पत्रकारिता, बैङ्किङ, कानुन निर्माण, ऊर्जा, रिमोट सेन्सिङ्, जनशक्ति अध्ययन, शिक्षा, महिला सशक्तीकरण, जल विज्ञान, कानुन प्रर्वतन, व्यवसाय योजना तथा प्रवर्धन, लेखा र वाणिज्य आदि जस्ता विषयहरू समावेश गरिएको छ ।

नेपाल सरकार अन्तर्गतका संस्थाहरूको आवश्यकता अनुरूप निर्माण गरिएको विशेष आइटेक कोर्सबाट ती संस्थाहरू लाभान्वित भएका छन् । उदाहरणका लागि यसै वर्ष अर्थ मन्त्रालयका ६२ कर्मचारीले नयाँ दिल्ली स्थित Institute of Government Accounts and Finance (INGAF) मा National Academy of Customs, Indirect taxes and Narcotics (NACIN) विषयको तालिम लिए । त्यसै गरी २०१९ मार्चमा भारतको फरिदावादस्थित National Academy of Customs, Indirect taxes and Narcotics (NACIN) मा नेपाल राजस्व अनुसन्धान विभागका दुई ब्याचका ५० कर्मचारीहरूलाई ‘अनुसन्धान तथा राजस्व चुहावट नियन्त्रण’ सम्बन्धी विशेष आइटेक कोर्ष प्रदान गरियो । यसै गरी ६० नेपाली अधिकारीहरूले National Academy of Customs, Indirect taxes and Narcotics (NACIN) मा ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ बारे प्रशिक्षण लिइरहेका छन् । यसका साथै कूल ३४ नेपाली जलस्रोत विज्ञहरूले रुड्की स्थित प्रतिष्ठित IIT मा सिँचाइ तथा जल व्यवस्थापन, जल विज्ञान, वैकल्पिक ऊर्जा र जलस्रोत विकास जस्ता प्राविधिक क्षेत्रहरूमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका छन् ।

उक्त समारोहमा भारतीय राजदूतावास स्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आकर्षक सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू