अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३१ | Colorodo: 23:46

नेपाली मार्सल आर्ट प्रशिक्षकलाई अन्तर्राष्ट्रिय गोल्ड अवार्ड

बिआरटीनेपाल २०७६ असोज १२ गते १०:२७ मा प्रकाशित

काठमाडौँ— अन्तर्राष्ट्रिय मार्सल आर्टस महासङ्घ, स्विट्जरल्याण्डद्वारा नेपालका फुल कन्ट्याक्ट विधाको नेपाल क्योकुशिन–सेईसिन काईकान कराते सङ्घका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठलाई ‘सिनियर मास्टर अफ द इयर–२०१९’ तथा ‘एक्सेलेन्ट एजुकेशनल वक्र्स अफ मार्सल आर्ट–२०१९’ को गोल्ड अवार्डद्वारा पुरस्कृत भएका छन् ।

सिहान श्रेष्ठलाई विश्व भरीका मार्सल आर्ट क्षेत्रका विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याएका प्रशिक्षक तथा खेलाडीहरूलाई विशिष्ट तहको अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरिने कार्यक्रम ‘स्विस हल अफ अनर–२०१९’ मा पुरस्कृत गरिएको हो ।

मार्सल आर्ट्सको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको यति ठुलो तथा सम्मानित अवार्ड नेपालले प्राप्त गरेको यो पहिलो पटक हो । मार्सल आर्ट्सको क्षेत्रमा अनवरत रूपमा २५ वर्ष भन्दा बढी सेवा गरेको, जापानको तर्फबाट नेपाल प्रमुख भई कार्य गरेको, कम्तीमा ६ डान ब्ल्याक बेल्ट प्राप्त भएको, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते सेमिनारहरुमा सहभागी भई अनुभव बटुलेको, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा प्रशिक्षक तथा रेफ्रिको अनुभव लिएको, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेको तथा विभिन्न पुरस्कारहरू प्राप्त गरी ख्याती कमाएको मापदण्ड पुरा भएपछि श्रेष्ठ उक्त अवार्डद्वारा पुरस्कृत भएका हुन् ।

उक्त अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रममा अन्तर्राष्ट्रिय मार्सल आर्टस महासङ्घका अध्यक्ष डा.शोके हेइन्ज कोहनेन तथा अन्तर्राष्ट्रिय संयोजक पिएचडी हान्सी हर्वट इ. फोस्टरद्वारा सिहान अशोक कुमार श्रेष्ठलाई गोल्ड अवार्डको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा विश्वका चर्चित ग्राण्ड मास्टरहरू वर्ड प्रोफेसनल किक बक्सिङ च्याम्पियन विल वालेस सुपर फुट, विल वालेस सामुयल कोक, ड्रयागन लेडी हलिउड स्टार सिन्थिया रोथ्रोक, वर्ड प्रोफेसनल किकबक्सिङ्ग च्याम्पियन द लेडी ल्याङ्ग मिस डायसी तथा तथा पावर लिफ्टिङ्ग मिस आगाटा डाउडीङ्गको विशेष उपस्थिति रहेको थियो ।

विश्व भरीका मार्सल आर्टस क्षेत्रका विभिन्न विधामा विशिष्ट योगदान पुर्याएका प्रशिक्षक तथा खेलाडीहरूलाई विशिष्ट तहको अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरिने कार्यक्रम ‘स्विस हल अफ अनर–२०१९ स्विटजरल्याण्डमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा अमेरिका, युरोप, एसिया लगायतका ३६ वटा राष्ट्रबाट प्रतिनिधिहरू सहभागी भएका थिए ।

उक्त कार्यक्रममा महासङ्घद्वारा मार्सल आर्ट्सको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका विभिन्न देशका १८ जना विशिष्ट व्यक्तित्वहरूलाई विशिष्ट अवार्डहरूको लागि मनोनयन गरिएको थियो ।

प्रतिक्रिया