अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

विश्व पर्यटन दिवस मनाईयो

बिआरटीनेपाल २०७६ असोज १० गते ९:४८ मा प्रकाशित

आज ४० औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको छ । ‘टुरिजम् एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस मनाईएको हो ।

दिवसकै अवसरमा मूल आयोजक समितिले आज बिहान प्रभातफेरी आयोजना गरेको छ । ठमेलस्थित कर्मचारी सञ्चयकोष भवन परिसरबाट शुरु भएको झाँकी बाँजागाजासहितको र्याली नारायणहिटी दरबारको पूर्वतर्फ निर्माण गरिएको गणतन्त्र पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

र्यालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, निजी क्षेत्रका पर्यटन व्यवसायी, सङ्घसंस्थालगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र पर्यटन सचिव केदारबहादुर अधिकारीले विश्व पर्यटन दिवसका अवसरमा छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै दिवसबाट नेपाली पर्यटन क्षेत्रको विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप्नुका साथै आगामी वर्ष पर्यटन क्षेत्रका लागि सुखद वर्षका रुपमा रहोस् भनी कामना गर्नुभएको छ ।

पर्यटनको माध्यमबाट बढीभन्दा बढी रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई मजबुद तुल्याउन तथा वातावरणको दिगो व्यवस्थापनका लागि आवश्यक सजकता अपनाउँदै यस क्षेत्रको विकास प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको शुभकामन सन्देशमा उल्लेख छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धनात्मक गतिविधि तीव्र रुपमा अघि बढेको र अभियानलाई सफल बनाउन आम समुदायको सक्रिय भूमिका चाहिने सन्देशमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू