अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

असोज १३ गते मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिंदै

बिआरटीनेपाल २०७६ असोज १० गते ९:२५ मा प्रकाशित

आगामी असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पुरा भएको खानेपानी मन्त्रालयले जनाएको छ । दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ । मन्त्रालयले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सम्पूर्ण तयारी पुरा भईसकेको बताएको हो ।

पत्रकार सम्मेलनमा खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकाले त्यो लक्ष्य पुरा भएको बताउनुभयो । मन्त्री मगरले आउँदो असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने जानकारी दिनुभयो । मन्त्री मगरले नेपालका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त घोषणा भइसकेको जानकारी गराउनुभयो । उहाँले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाएर आज नेपाल नै खुला दिसामुक्त राष्ट्र हुने स्थितिमा पुगेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

मन्त्रालयका अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् । २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको हो । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् । त्यस्तै प्रदेश नं. ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू