अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

समन्वयात्मक रुपमा सक्रिय हुन मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:२६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवलाई समन्वयात्मक रुपमा सक्रिय हुन निर्देशन दिनुभएको छ । चालू आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटको पहिलो दुई महीनाको समीक्षाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज आयोजित बैठकमा प्रधानमन्त्री ओलीले घोषित लक्ष्य र प्रगतिलाई आगामी समीक्षामा नयाँ सोचका साथ बढी स्पष्ट र मूर्त बनाएर प्रस्तुत गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले महत्वपूर्ण र ठूला काम हुन नसकेमा सानासाना काम सम्पन्न हुनुको अर्थ नरहने उल्लेख गर्दै विकासमा योगदान दिन, आर्थिक उन्नति र समाजमा परिवर्तनको सकारात्मक परिणाम र असर पार्न सक्ने गरी महत्वपूर्ण कार्यक्रममा केन्द्रित हुन पनि आग्रह गर्नुभयो ।

एक महिनाअघि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ– आफ्नो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौंता गरेका थिए । त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समीक्षा गरिएको हो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको तर्फबाट सबै मन्त्रालयको कार्य प्रगति विवरण पेश गरिएको थियो भने त्यसमा सबै मन्त्रालयका मन्त्री र सचिवहरुले आ–आफ्ना मन्त्रालयको कामको प्रगति र काम गर्न देखिएको नीतिगत समस्याका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू