अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 03:44

सरकारले राम्रो गर्न नसके जनताले विकल्प खोज्छन् -प्रचण्ड

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:२४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले राम्रो गर्न नसके जनताले विकल्प खोज्न सक्ने बताउनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको लगानी सम्मेलनलाई आज सम्बोधन गर्दै प्रचण्डले धमिलो पानीमा माछा मार्ने प्रयास गर्नेबाट जोगिनु पर्ने बताउनुभयो । उहाँले दुइ सय ५० वर्ष पुरानो राजनीतिक प्रणाली र सोच परिवर्तन गर्न समय लाग्ने बताउनुभयो ।

डेढ वर्षकै अवधिमा चमत्कारिक परिवर्तन खोज्नु कल्पना मात्र हुने प्रचण्डको भनाइ छ । निजी क्षेत्रलाई नाफा कमाउने, सुरक्षा र स्वतन्त्रता नभए लगानीको वातावरण बन्न नसक्ने भन्दै प्रचण्डले लगानी भित्र्याउन तिलोत्तमा नगरपालिकाले गरेको यो सुरुवात देशका अन्य स्थानीय तहले पनि सिक्न सक्नुपर्ने बताउनुभयो । समृद्ध राष्ट्रको कुरा गर्दा निजी क्षेत्रलाई पछाडी छोडेर अघि बढ्न नसकिने प्रचण्डको भनाइ छ ।

रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल भैरहवा ६ लेन सडक, बुटवल नारायणगढ सडक लगायतले पनि लगानीका लागि पर्याप्त पूर्वाधार तयार भएको उहाँले बताउनुभयो । रुपन्देहीको कोटिहवामा चलिरहेको सम्मेलनमा देश तथा विदेशका व्यवसायी सहभागी छन् । कृषि, पर्यटन, पूर्वाधार र उत्पानका झण्डै एक दर्जन ठुला परियोजनामा लगानीका लागि सम्झौता हुने नगरपालिका प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारले संयुक्त रुपमै लगानी बढाउने योजना र पूर्वाधार तयार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका सचेतक बालकृष्ण खाँड, नेकपाका महासचिव विष्णु पौडेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायतले संघीयता कार्यान्वयनमा स्थानीय तहले शुरु गरेको लगानी सम्मेलन सबै स्थानीय तहका लागि उदाहरणीय भएको बताउनुभयो ।

तर लगानीकर्तालाई ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन संघीय सरकारले आवश्यक ऐन कानुन बनाउनुपर्नेमा उनीहरुको जोड छ । देशमा लगानी भित्र्याउन सबै राजनीतिक दल एक भएर लाग्ने प्रतिबद्धता पनि उनीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू