अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

इन्डोनेसियामा प्रस्तावित विधेयकको विरोधमा व्यापक प्रदर्शन

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:२४ मा प्रकाशित

इन्डोनेसियामा सरकारले ल्याएको एउटा विधेयकको विरोधमा व्यापक प्रदर्शन भएको छ । प्रस्तावित विधेयकमा विवाहपूर्व यौनसम्बन्धलाई गम्भीर अपराध मानिएको छ । गर्भपातमा पनि विधेयकले कडाइ गरेको छ । विधेयकको विरोधमा इन्डोनेसियामा हजारौंले प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा तथा अश्रुग्यास प्रयोग गरेको भए पनि प्रदर्शनकारी सडकमा उत्रेर सरकारविरुद्ध नारावाजी गर्दै आएका छन् ।

बढ्दो विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले विधेयकमाथिको मतदानलाई स्थगित गरेको छ । राष्ट्रपति जोको विडोडोले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै मतदान शुक्रबारसम्मका लागि स्थगित गर्नुभएको हो । विरोध प्रदर्शनकारी भने उक्त विधेयक फिर्ता लिनुपर्ने माग अघि सार्दै प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले कुनै न कुनै रुपमा सरकारले विधेयक पारित गर्ने आशंका गर्दै आएका छन् ।

राजधानी जकार्तामा प्रदर्शनकारीले सभामुखसँग भेट्न पाउनुपर्ने माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको जनाईएको छ ।

प्रस्तावित विधेयकमा विवाहपूर्व यौनसम्बन्धलाई दण्डनीय अपराध मानिएको छ । यस्तो कसुरमा एक वर्ष जेल सजायको प्रावधान राखिएको छ । विवाहपूर्व युवा–युवती सँगै बस्नु, ‘लिभ इन रिलेशनसीप’ सम्बन्ध अपनाउनु पनि अपराधको श्रेणीमा राखिएको छ । यस्तो कसुरमा ६ महिनासम्म जेल सजाय हुन सक्नेछ ।

विधेयकमा राष्ट्रपति, उपराष्ट्रपति, धर्म, सरकारी संस्था र राष्ट्रिय प्रतीक (झण्डा, राष्ट्रगान आदि) को अपमान गर्नु गैरकानुनी मानिएको छ । विधेयकले गर्भपातलाई दण्डनीय अपराध मानेको छ । बलात्कार र चिकित्सकीय मामलाबाहेक अन्य परिस्थितिमा गर्भपात गराएमा चार वर्ष जेल सजायको प्रावधान राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू