अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

आधुनिक र ब्यवसायिक उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमीन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र सपथ ग्रहण समारोहलाई आज ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै उहाँले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने विश्वास ब्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरुले एकता गरी सामान्यतः बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गर्नुभयो ।

देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाई गर्न महासङ्घका नेतालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू