अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

गण्डकी प्रदेश सभाबाट गण्डकी विश्वविद्यालय विधेयक पारित

बिआरटीनेपाल २०७६ असोज ८ गते ७:१८ मा प्रकाशित

गण्डकी प्रदेशसभाको बुधवारको बैठकले गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनद्वारा विधायन समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरिएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले उक्त प्रस्तावको विपक्षमा मत जाहेर गरेका थिए । विधेयक माथिको छलफलमा सहभागी हुँदै नेकपाका सांसद् एवं प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले एकात्मक सामन्तीराज्य व्यवस्थाबाट अघि बढ्दै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा प्रवेश गरेको अवस्थामा प्रदेशको आफ्नै विश्वविद्यालय आवश्यक महसुस गरी उक्त विधेयक ल्याइएको बताउनुभयो । गण्डकी प्रदेश विश्वविद्यालयलाई सबैले गौरव गर्ने किसिमको बनाइने बताउँदै उहाँले शैक्षिक गुणस्तरीयता एवं अनुसन्धानात्मक शिक्षालाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो ।

अर्का सदस्य मेखलाल श्रेष्ठले देशमा भएका अन्य विश्वविद्यालयले अपेक्षाअनुरुप प्रतिफल दिनसकेकोे वा नसकेको सम्बन्धमा समीक्षा गर्नुपर्ने बताउनुभयो । पूर्वाधारको अभाव, कुन विषय पढाउनेजस्ता कुरा तय भइनसकेको अवस्थामा विश्वविद्यालय खोल्ने कुरा केवल कागजमा मात्रै सीमित हुने हो की भन्ने आशङ्का देखिएको उहाको भनाई थियो । सांसद मीनप्रसाद गुरुङले सङ्घीयता कार्यान्वयनको विषय प्रत्यक्ष रुपमा विश्वविद्यालयसँग जोडिएको उल्लेख गर्नुभयो ।

बैठकको शून्य समयमा बोल्दै सदस्य दीपक कोइरालाले चाडवाड नजिकिँदै गर्दा हुनसक्ने महङ्गी एवं कालोबजारीप्रति बेलैमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सभा सदस्य विन्दुकुमार थापाले वेष्टर्न हेल्थ साइन्स इन्ष्टिच्युट, काहुँले पोखरा आसपासका विद्यार्थीको भर्ना नलिएको र आर्थिक चलखेलका आधारमा प्रदेश नं २ र ५ का विद्यार्थीलाई भर्ना गरिएको भन्दै यसमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद् राजीव पहारीले फेवाताल जलकुम्भीले ढाकिएको र दिनदिनै यसको आकार खुम्चच्दै गएकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो । यसैगरी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले गाईको फोटो राखेर बधशालादेखि भान्छासम्म स्वस्थ र स्वच्छ मासु भन्दै विज्ञापन र हिन्दू धर्ममाथि असर पुर्याएकाले संविधानबमोजिम एक अर्काको धर्म र संस्कृतिको सम्मान तथा रक्षा गर्नुपर्ने बताउनुभयो ।

बैठकको शुन्य समयामा प्रदेशसभा सदस्य पियारी थापा, धनमाया पोखरेल लामा, विनोद केसीलगायतले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । आजको बैठकमा प्रदेशसभाका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक बिहीबार अपरान्ह १ बजे बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू