अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

चीनले नेपाललाई चीनिया “विकास मोडल” बारे प्रशिक्षण दिने

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:३७ मा प्रकाशित

नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सबैभन्दा अगाडि रहेको उत्तरी छिमेकी चीनले अब नेपालसँगको विकास साझेदारीको यात्रामा नेपाल कम्युनिष्ट पार्टीलाई ‘चिनियाँ विकास मोडल’ बारे प्रशिक्षण दिने भएको छ । सोमबार बेलुका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन हुने उक्त प्रशिक्षण कार्यक्रममा सत्ताधारी पार्टीको स्कुल विभाग तथा चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल र विदेश विभाग संयुक्त आयोजक रहेका छन् ।

हालै नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा चीन र नेपाल दुवैमा ‘कम्युनिष्ट सत्ता’ रहेको अवस्थामा स्थायित्व तथा विकास बढी सहज हुने अभिव्यक्ति निहित थियो । राष्ट्रपति सी जिनपिङको नेतृत्व र नीति अन्तर्गत नेपालमा विकासको सम्भावना पनि उक्त दुई दिने गोष्ठीमा चर्चा हुने अनुमान गरिएको छ ।

नेकपा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको नेतृत्वमा गरिब ४० जनाको टोली उक्त गोष्ठीमा सहभागी हुनेछ भने नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट करिब २०० सहभागी हुने छन् । उद्घाटन सत्रपछिको कार्यक्रम मुख्यतया चिनियाँ विकास मोडेल र राजनीति तथा विकासबीचको अन्तरसम्बन्धबारे चिनियाँ अनुभव बारे प्रशिक्षण दिइने भए पनि विकास र भ्रष्टाचार बारेको चिनियाँ नियम तथा अभ्यास तथा नेपालमा त्यसको सान्दर्भिकताबारे बहस तथा अन्तरक्रिया होला या नहोला भन्ने बारे नेपाली आयोजकहरुलाई जानकारी नरहेको स्रोतले बताएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यो गोष्ठी दुई मुलुकका पार्टीगत समझदारीका आधारमा सम्पन्न हुन लागेकाले त्यसमा सरकारको आधिकारिक संलग्नता भने नरहेको बुझिएको छ । पार्टीकै विदेश विभागले पनि यसअघि कुनै विदेशी शक्तिसंग मिलेर यस्ता कार्यक्रम नगरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू