अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

म्याग्दीको कोटखोलामा बाढी, २ बालिका बेपत्ता

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:३४ मा प्रकाशित

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढी बस्तीमा २ बालिका बेपत्ता भएका छन् । बाढीले तीन वटा घर भत्किँदा भाग्ने क्रममा हराएका २ बालिका १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार अहिलेसम्म नभेटिएका हुन् ।

बाढीका कारण ८ घर परिवार पीडित बनेको र ३१ जना प्रभावित भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । बाढीले स्थानिय बुद्ध एकेडेमी विद्यालयसहित ८ घरमा क्षति पुगेको छ । डीएसपी मरासिनीका अनुसार बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घर बाढीले पूर्णरुपमा क्षति पुर्याएको छ ।

यसैगरी, बाढीका कारण सेते किसान, विष्णु दर्जी, अनिता परियार, रेशम दर्जी र चमेली परियारको घरसहित ३१ जना प्रत्यक्ष रुपमा प्रभावित भएको प्रहरी नायब उपरीक्षक मरासिनीले बताउनुभयो ।

कोटखोलाले परम्परागत धार परिवर्तन गरी मानववस्ती र विद्यालयतर्फ पसेपछि क्षति पुगेको हो । बुद्ध एकेडेमीको खेलमैदानमा बाढी पसेको र कक्षाकोठा बन्द भएका कारण बग्न नपाउँदा क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू