अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच बढी शुल्क फिर्ता गर्ने सहमति

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:५५ मा प्रकाशित

चितवन मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ । शनिवार दिनभर जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै शुल्कमा समायोजन गर्ने सहमति भएको हो ।

विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम भोलिदेखि नै स्थगन गरेर पठनपाठन सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक मागका सम्बन्धमा भने कलेज प्रशासन र अभिभावकबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

बढी शुल्क कसलाई कति फिर्ता गर्ने भन्ने विषयमा समिति गठन गरिएको र त्यसका आधारमा फिर्ता गर्ने रकम यकिन हुने प्रजिअ बस्नेतले बताउनुभयो । मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने, आन्दोलनरत विद्यार्थीको तर्फबाट प्रकाश चन्दलगायतका विद्यार्थी, अभिभावक र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायतबीच जिल्ला प्रशासन कार्यालय चितवनमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म वार्ता चलेको थियो ।

सरकारले तोकेभन्दा धेरै शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनका कारण १९ दिनदेखि पठनपाठन ठप्प छ ।कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत छन् । कलेजले, सरकारले तोकेकोभन्दा रु १२ देखि १५ लाखसम्म बढी रकम लिने गरेको र त्यो रकम तत्काल फिर्ता हुनुपर्ने भन्दै विद्यार्थीले आन्दोलन गरेका थिए ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै शुल्क बढी लिएको भए तत्काल फिर्ता गर्न चितवन मेडिकल कलेजलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू