अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१५ | Colorodo: 07:30

अल्जाइमर चेतना दिवस, स्वस्थ जीवनशैली र खानपानमा ध्यान दिन सुझाव

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:४२ मा प्रकाशित

आज विश्व अल्जाइमर चेतना दिवस । नेपाल पनि विभिन्न कार्यक्रम गरी २६औं अल्जाइमर चेतना दिवस मनाइएको छ । यो वर्ष अल्जाइमर चेतना दिवसको नारा ‘विस्मृति रोगबारे चर्चा गरौं, हेय भावनाको अन्त्य गरौं’ भन्ने रहेको छ ।

बिर्सने रोगकोरुपमा चिनिने अल्जाइमर रोग ६५ वर्ष उमेरमाथिका व्यक्तिहरुमा बढी देखिने चिकित्सकहरु बताउँछन् । नेपालमा पनि यो रोगका बिरामीको संख्या बढ्दै गएको छ । सन् २०१५ को तथ्यांकअनुसार नेपालमा ७८ हजार मानिसमा बिर्सने समस्या रहेकामा सन् २०३० सम्म यो संख्या दोब्बर हुने अनुमान गरिएको छ ।

विश्व स्वास्थ्य संगठनकाअनुसार २०१९ सम्ममा विश्वभर पाँच करोड मानिस अल्जाइमर रोगबाट पीडित छन् । सन् २०५० सम्ममा विश्वभरका ज्येष्ठ नागरिहरुमध्ये नेपालजस्ता विकासोन्मुख मुलुकहरुमा ६८ प्रतिशत ज्येष्ठ नागरिकलाई बिर्सने रोग लाग्ने अनुमान गरिएको छ ।

दिवसकै अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अल्जाइमरका बिरामीको संख्या बढ्दै गएकाले यसको निराकरणका लागि सरकारले योजनाहरु बनाइरहेको बताउनुभयो । अल्जाइमर रोगबारे धेरैलाई थाहा नभएको भन्दै उहाँले यो रोगबारे सचेतना कार्यक्रमहरु सन्चालन गरिने उल्लेख गर्नुभयो ।

अल्जाइमर रोग लाग्न नदिन जीवनशैली र खानपानमा विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । नियमित व्यायाम र मस्तिष्कलाई सक्रिय बनाउनुपर्छ । धूमपान तथा मदिरा सेवनबाट टाढै रहने र पौष्टिक तथा सन्तुलित खानेकुरामा जोड दिन पनि आवश्यक हुन्छ । दिमागलाई सक्रिय बनाउन सामाजिक अन्तरक्रियाले पनि ठूलो भूमिका खेल्ने चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू