अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

संसारभरको सडकमा ओइरिए अभियन्ताहरुः जलवायु परिवर्तनबारे ध्यानाकर्षण

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:४१ मा प्रकाशित

जलवायु परिवर्तनले पारिरहेको असरबारे विश्वलाई नै ध्यानाकर्षण गराउन संसारभरका अभियन्ताहरु सडकमा उत्रिएका छन् । स्वीडेनकी स्कूले किशोरी ग्रेटा थनबर्गले आफ्नो स्कूलबाट थालेको यस अभियान अहिले विश्वव्यापी बनेको छ । उनकै आह्वानमा भइरहेको यस अभियानमा संसारभरका विद्यार्थीदेखि अभियन्ताहरु सडकमा उत्रिएका हुन् ।

सेप्टेम्बर २० देखि २७ सम्मका लागि संसारभरका विश्व बचाउ अभियन्ताहरु सडकमा उत्रिएर विश्वभरका नीति निर्माताहरुलाई जलवायु परिवर्तनले पारेको असरबारे तत्काल काम गर्न अपील गर्नेछन् । अभियन्ता थनबर्गले ’फ्राइडे फर फुचर’ नाममा यो अभियानमा जोडिन अपील गरेकी छिन् । उनको यस अभियानलाई विश्व मानवअधिकारवादी संस्थाहरुले सघाएका छन् ।

यतिबेला विश्वका नीति निर्माताहरु अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभामा जुटिरहेका छन् । त्यही जलवायु परिवर्तनले पारेको असरबारे पनि छलफल हुँदैछ । विश्व जलवायु हड्ताल नाम दिइएको यस अभियानमा संसारका करोडौं लाखौंलाख बालबालिका जोडिने अपेक्षा गरिएको छ । अष्ट्रेलियामा मात्र तीन लाख ¥याली आयोजना गरिएको बताइएको छ । एशिया, अष्ट्रेलिया, युरोप, अमेरिका, अफ्रिकाका मुख्य मुख्य शहरका सडकमा बालबालिकाहरु प्लेकार्ड हातमा बोकेर मार्चमा संलग्न भएका छन् ।

वातावरणीय दुर्घटनाबाट संसारलाई बचाउन बालबालिकाहरुले कार्यान्वयन तहमा रहेकाहरुलाई तत्काल कदम चाल्न आह्वान गरिरहेका छन् । संसारभर हजारौं कार्यक्रम आयोजना गरिएका छन् । शुक्रवार साँझ न्यूयोर्कमा अभियन्ता ग्रेटा थनबर्गले सम्बोधन गर्ने बताइएको छ । शनिवार राष्ट्रसंघमा युवा जलवायु सम्मेलन गरिँदैछ ।

सोमवार राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेर्रेसले एक आपतकालीन सम्मेलन डाक्नुभएको छ । जहाँ विश्वभरका नेताहरु सहभागि हुनेछन् । उहाँले सन् २०१५ मा पेरिस जलवायु सम्मेलनमा गरिएको प्रतिवद्धता पालना गर्न अनुरोध गर्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू