अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 08:26

मेरो मायालु हजुर

रस्मिला कवाङ “रश्मि” २०७६ असोज २ गते ११:५५ मा प्रकाशित

कथा

तिम्रो मनमा लुकेको कुरा, नभने पनि भुली दिनेलाई सम्झी दिनेलाई ……………माया त माया हो ।

२०१८ को सेप्टेम्बर महिना थियो । म भर्खर नेपालबाट आएकी थिएँ । मलाई अझै पनि नेपालको यादले छोडेको थिएन । मन गर्हौ नै थियो । अलि चिसै थियो । दसैँको माहोललाइ चटकै छोडेर आएकी थिएँ । संयोग नै भन्नुपर्छ यसलाई पनि, म हरेक चोटि नेपालबाट आउँदा यस्तै हुन्छ । पहिलो पटक आउँदा नि अस्तमीको दिन घर छोडेर आउनुपरेको थियो । यसपालि पनि यस्तै भयो । युरोपको मौसम नि त्यस्तै छ, कति खेर के हुन्छ थाहा हुन्न । बिहानीको चिसो सिरेटोले दसैँकै झल्को दिइरहेको थियो ।

आफ्नो ल्यापटपमा काम गर्दै थिएँ । दिक्क लागेर केही राम्रा नियात्राहरू पढ्नतिर लागेँ। यत्तिकैमा एउटा कथाको शीर्षकमा आँखा गयो । हेर्दै रमाइलो थियो। किन वर्षैपिछे नेपाल जाने भन्ने थियो । त्यसले तानिहाल्यो मनलाई । सरसर्ती पढेँ । ठ्याकै कसैले आफ्नै कुरा लेख्दिएजस्तो लाग्यो । एकदम सही कुरा थियो । विदेशमा गएकाहरूलाई जब नेपाल जान्छ, सबैले किन आएको भनेर सोधेर हैरान गर्छन् । म एक वर्ष बस्दा नि प्राय साथीहरूले सोध्ने पहिलो प्रश्न नै त्यही हुन्थ्यो । त्यो रचना पढेर राम्रो लाग्यो । कसले लेखेको रहेछ भनेर हेरेँ । लेखकलाई चिनिन्न मैले। सायद पहिला पढेकी थिएन क्यारे । सारै मनासिब लागेर लेखकका अरू पनि रचनाहरू खोजेँ । केही भेटिए । पढ्दै गएँ । दुईचार वटा पढेँ । एउटामा चाही गएर अडिएँ, जहाँ आमाको बारेमा लेखेको थियो । सारै गहन लाग्यो । त्यो रचना लेख्नलाई त्यो लेखकलाई कति गाह्रो भयो होला, कसरी त्यसरी लेख्न सक्यो होला जस्तो लाग्यो ।

आमाको बारेमा पहिला पनि थुप्रै पढेकी त थिएँ तर यो ती सबैभन्दा भिन्न थियो । लेखकले यसमा आफ्नो मन यसरी निचोरेर शब्दहरूमा आफ्नो बह पोखेका थिए की हरेक शब्दशब्दले गहन अर्थ बोडेको थियो । कस्तो पिडा भयो होला लेख्दै गर्दा, कसरी लेख्न सक्यो होला, कुन मनले लेख्यो होला, त्यो सम्झना, यादहरूलाई कसरी पोख्न सक्यो होला जस्तो लाग्यो । साह्रै वेदना थियो । पढेर त एक छिन् मन स्तब्ध भयो । मैले मेरी आमालाई सम्झेँ एक छिन । मेरी आमालाई मैले एक छिन नदेख्दा त मेरो संसार ढलेजस्तो हुन्छ मलाई, म बाच्नुको कुनै अर्थ देख्दिन्न थिएँ , एक हप्ता पनि भएको थिएन घर छोडेर आएको, आमाको न्यास्रो लागि सकेको थियो, ती लेखकलाई कस्तो भयो होला जसले यति बेला सम्म आफ्नो आमाको अनुहार पनि याद छैन, कसरी कुन मनले बाची रहेको होला । हुन त संसारको रीत नै हो यी सब , तर पनि मन सम्हालिन त्यति सजिलो थिएन होला पक्कै को रहेछ त्यस्तो लेख्ने भनेर मैले खोजेँ । अनि धन्न आजकलको प्रविधिले गर्दा सजिलो थियो । मैले नाम त भेटेँ तर मलाई थाहा थिएन ती लेखक हो कि होइन भनेर । तैपनि केही प्रतिक्रिया लेखेर पठाएँ ।

लेखकले नि प्रतिउत्तर फर्काइहाले । मैले सोधे त्यसपछि प्रश्नमाथि प्रश्नहरू । सुरुमै मेरो प्रश्न’ यो सत्य भोगाइमा आधारित हो कि होइन’ भन्ने हुन्थ्यो । लेखकले हो आफ्नै भोगाई हो भनेपछि झन् उत्सुकता जाग्यो । मलाई काल्पनिकभन्दा वास्तविक जीवनका भोगाइहरूको सिलसिला पढ्न मज्जा लाग्छ किनकि ती भनेका हाम्रै जीवनका कथाहरू हुन् ।त्यसपछि लेखाइका कुराहरू सोध्दै गएँ । लेखक मैले सोचेभन्दा धेरै नरम अनि शालीन रहेछ । सोधेका सबै कुराहरू भन्न आनाकानी गरेनन् । उसका जीवनका कथाहरू सुन्दै जाँदा झन्झट उत्सुकता भयो। कति धेरै सङ्घर्ष गरेको रहेछ उसले जीवनमा।मैले सोधेका हरेक प्रश्नको ऊसँग एउटा कथा रहेछ। उसले त्यही भएर मेरा हरेक प्रश्नको उत्तर कथाको लिङ्क दियो । जति उसका कथाहरू पढ्दै गएँ त्यति नै धेरै मलाई झन् खोतल्न मन लाग्यो ।

मेरो यो एउटा बानी नै छ कि केही कुरामा यदि मन भुल्यो भने म त्यो कुरा को गहिरो सतहीसम्म जान मन लाग्छ । मैले जति उसका कथाहरू पढ्दै गएँ ,उति धेरै झन् पढ्न मन लाग्यो ।सायद उसका धेरै सङ्घर्षका कथा थिए। सबभन्दा धेरै त उसको त्यो आमाको कथाले मेरो मन तानेको थियो। त्यस्तो कथा लेख्ने मान्छे त सानुतिनु लेखक हुनै सक्दैन । म प्रभावित भएँ। जीवन यहाँ कति धेरै फरक हुने रहेछ । हुन त मैले अरू पनि धेरै कथाहरू पढेकी छु, धेरै राम्रा रचनाहरू नि पढेकी छु, तर केहिकेहि चाही राम्रा मात्र होइन सारै धेरै राम्रा हुने रहेछन्, जसले मन, मुटु, छेदन गरी पाठकको आत्मासम्म पुग्छ अनि त्यस्तो कथाहरू जो कोहिले पक्कै पनि लेख्न सक्दैन ।ऊ पनि त्यस्तै लेख्नेहरू मध्ये एक होला सायद, उसले लेखेकाहरू कति मिल्ने रहेछन् मसँग, हुन त पाठकलाई त्यस्तै हुन्छ राम्रा रचना पढेपछि अनि यो नै लेखकको सफलता हो ।मैले त्यही पत्रिकामा विगत २ वर्ष देखि राम्रा रचनाहरू बेलाबेला मा पढ्दै आएकी थिएँ तर त्यो लेखकको चाही पढेकी रहेनछु ।

म आफै नि छक्क परेँ। हुन त, सबै पढेर पनि साध्य छैन ।मैले त्यो लेखकको एउटा लेख पढेर मूल्याङ्कन गर्नु ठिक त होइन तर पनि लेखाई अनि लेख्ने कला भनेको त्यस्तो हुँदो रहेछ कि शब्दमा कति ताकत हुन्छ जसले मुटु छियाछिया पार्न सक्छ भनी त्यही दिन महसुस गरेँ। आँसुलाई आँखैबाट पिउनु जति पीडा अरू केही हुँदैन, त्यो भोग्नेलाई थाहा हुन्छ। सायद लेखकलाई पनि त्यस्तै भएको होला। पढ्ने मेरो धैर्यता पनि हो । पढ्नु मेरो लागि मनको शान्ति हो र त पढ्छु । त्यही भएर नै होला, कुनै कुरा पढी सकेपछि मलाई त्यसको मनन गर्न मन लाग्छ ।त्यस्तै लेखाई अनि भोगाई बाट पनि त हो नि केही केही सिक्ने । सिक्ने अनि सिकाउने कला भनेको जीवन रहुन्जेल कै हो नि आखिरमा ।केही छिन्को कुराकानी बाट नै लेखक ती म यति धेरै मिलनसार भैसकेकी थिएँ । पहिलो प्रभाव नै अन्तिम प्रभाव हो भने जस्तै भयो ।

सुरुको कुराकानीबाट नै राम्रो लाग्यो। झन् अचम्मको कुरा के रह्यो भन्दा त लेखकले ७ वर्ष अघि नै मलाई सामान्य मेसेज गरेका रहेछन् तिनचार पटक, म त झन् तिन छक्क परेँ, कस्तो सन्जोग हो यो । तर मैले चाही केही प्रतिक्रिया नदिएकी रहेछु । र आज आएर त्यही लेखकलाई म आफै नै प्रतिक्रिया दिएँ । एक छिन त म मौन रहेँ। सायद त्यति बेला लेखकले राम्रा कथाहरू लेखेका थिएनन् होला या मैले पढेकी थिएन होला । सन्जोग भनेको नि कहिले कहीँ विश्वास गर्ने गाह्रो हुने रहेछ । मैले लेखकलाई पनि यही कुरा भनेँ, सायद मलाई मनमनै घमन्डी पाठक रहेछ ठाने होलान् लेखकले । यस्तै लेखाइको कुरा २ दिन सम्म चल्दा यस्तो लाग्यो कि मैले लेखकलाई उहिलेदेखि चिनेकी हु अनि सबै बेलिबिस्तार थाहा भएको जस्तो भान । सायद आत्मीयता भन्ने चीज कति खेर कहाँ कोसँग हुने थाहा नहुने रहेछ, अनि आफैमा पनि निर्भर हुने कुरा जस्तो लाग्यो।

म जस्तो रूपमा प्रस्तुत भएँ, सायद ऊ पनि त्यस्तै रूपमा थियो । कति शालीन, कति नरम अनि कस्तो मिलनसार रहेछ ऊ । पहिलो कुराबाट नै थाहा पाएँ मैले। छोटो कुरा बाट नै त्यति आत्मीयता हुनु भनेको त चानचुने कुरै थिएन । ऊ प्रति मेरो झन् श्रद्धा अनि सम्मान बढ्यो। कस्तो घमन्ड भन्ने पित्तिकै थिएन । यस्तै कुराकानी चल्दै गयो। म लेखाइ अनि भोगाइका कुराहरू सोध्थेँ, ऊ पनि कति राम्रो नरम तरिकाले व्याख्या गर्थियो ।केही छिन्को कुराबाट कति खेर साथीजस्तो भयो, पत्तो नै पाएनौ ।यस्तै तरिकाबाट दिनहरू बित्दै थियो ।

बिस्तारै शिशिर याम सँगै दिन परिवर्तन हुँदै थियो । चिसो यामको सुरुसँगै पुरै पर्यावरण नै रङ्गीचङ्गी हुँदै थियो । दसैँ पनि आयो अनि गयो। खासै त्यस्तो रौनक थिएन। दसैँ तिहार भनेको सानु छँदा मात्र रहेछ, जति जति जीवन अघि अघि बढ्दै जान्छ, अनि त्यति त्यति अरू थुप्रै कुराहरूले जिन्दगी क्रमशः भारी हुँदै जाने रहेछ । विदेशमा सबै एक्लै गर्नु परेपछि अनि एक्लै बाच्नु परेपछि बल्ल जीवनको अर्थ अनि मूल्य थाहा हुने रहेछ । पढाई, जागिर अनि जिन्दगीको पछि लाग्दा लाग्दा कतिखेर आफ्ना ती कलिला रहरहरू ओइल्लिने रहेछ, पत्तो नि नपाउने गरी समय बित्ने रहेछ । त्यही भएर म मसिना खुसीमा पनि अन्तर्मन देखि मुस्कुराउन मन लाग्छ ।विशेष होइन तर सीमित संस्करण यो जीवन अध्यायलाई पनि सफलीभूत गर्न मन लाग्छ । र त मलाई जीवनमा कति कुरा अझै गर्न वाकी छन् जस्तो लाग्छ, जीवन कति सुन्दर छ, यो सुन्दर जीवनलाई अझै सुन्दर तरिकाले जिउनुपर्छ भन्ने मन्त्रमा हिँडेकी हुन्छु म । हर नयाँ दिन सकारात्मक प्रवृत्तिको प्रयास; ताकि आज भन्दा भोलि सुमधुर हुनेछ, हिजो त सम्झनाका पानामा सीमित बनिसके र पनि ती समझाना हरू कति प्यारा छन्, जसले मलाई आज झन् झन् अघि बढ्ने प्रेरणा दिन्छ ।

आफ्नो पढाई अनि व्यस्तता बाट छुट्टी लिएर मलाई घुम्न नि मन पर्ने पक्ष हो। जीवन भोगाइहरू भनेको त्यही घुमाइबाट नै त हुने हो फेरी। र त जीवन साचिकै जीवन जस्तो हुन्छ । उसको प्राय लेखहरू पढेपछि मलाई म आफ्नैको भावना जस्तो नि लाग्यो । मैले ठटामै पनि उसलाई भनेकी थिएँ कि उसले हाम्रो कुरा चोरेरै लेख्यो भनेर । ऊ हाँसी रहन्थ्यो । जस्तो भने नि नरम बोली अनि हँसिलो अनुहार, कति रमाइला मान्छे रहेछन् । जस्तो नाम उस्तै तेजिलो । तपाइबाट सुरु भएको कुराकानी तिमीमा आउँदा सम्म त सँगै हुर्केको साथी जस्तै भैसकेको थियो । त्यति सजिलो त्यति नजिकको जस्तो । अनि म पाठकबाट असल साथी बनिसकेकी थिएँ । नाता साइनो हुनलाई चिन्ने पर्छ, भेट्ने पर्छ भन्ने छैन रहेछ । हामीबिच कुनै साइनो थिएन, साइनो बिनाका सम्बन्ध भनेको सायद यस्तै हुनुपर्छ । दुई बचन कुरा अनि केही छिन् को आत्मीयताले पनि कति बलियो मित्रता बन्न सक्ने रहेछ । सबैमा लागु नहुन सक्छ किनकि यो त आफैमा भर पर्ने कुरा हो । जब बिचार भावनाहरू मिल्छ तब सबै कुरा मिल्दो रहेछ । त्यसमा कुनै जबर्जस्ति गर्ने नपर्ने । कुरा गर्दा पनि छुटेको साथी फेरी भेटेको जस्तो अनुभव अनि बिर्सिसकेको एउटा अनुहार धेरै लामो अन्तरालपछि मेरो अगाडि प्रस्तुत भएको जस्तो । लाग्छ कहीँ सपना त हैन ? यस्तो पनि हुन्छ र जीवनमा । अहँ, हुँदैन, हुने सक्दैन, किनकि यस्तो कुराहरू, सन्जोगहरू त काल्पनिक कथाहरूमा मात्र हुन्छ, वास्तविक जीवनमा यस्तो हुँदैन ।

मेरो लागि त ऊ मात्र एउटा राम्रो अनि सशक्त लेखक हो, अनि एउटा असल साथी । उसले पनि मलाई सायद एक असल साथीको रूपमा लियो क्यारे र त मैले सोधेका कति कुराहरू ऊ सजिलै सहज तरिकाले लिन्थ्यो । बस यस्तै तवरले समय बित्यो। मेरो आफ्नो पढाई जागिर अनि त्यस्तै कुरामा बितिरहेको थियो ।साथीहरूसँग नि त्यति धेरै कुरा हुन पीरहेको थिएन, समयको फरक भएको कारणले । घरमा कुरा गर्‍यो अनि आफ्नो जिन्दगीमा दौधूप ।

बेलाबेला म उही लेखक सग नि कुरा हुन्थियो, मन कुरा मिल्ने भएकोले कुरा गर्दा आफ्नै मिल्ने साथीसंग कुरा गरे जस्तै थियो। कुनै कुरा मा सोचविचार नै गर्नु पर्दैन थियो ऊसंग कुरा गर्दा, त्यति निर्धक्कले कुरा गरेकोमा आफैलाई नि थाहा नहुने कहिले कहिँ। फेरी म अलिकति कोहि मान्छेसंग खुलेपछि, म सजिलै घुलमिल हुन खोज्ने खालकी, त्यसमाथि पनि ऊ त राम्रो लेख्ने लेखक । एउटी नारीको बारेमा त्यति श्रद्धा अनि सम्मानले लेख्ने लेखक त धेरै राम्रो । त्यही भएर ऊ प्रति मेरो त्यति विश्वास थियो सायद।म उसलाई आखाँ चिम्ली विश्वास गर्दै थिएँ ।ऊ छ पनि त्यस्तै, निर्दोष, नरम, हसिलो जे भने पनि रिस राग केहि छैन ।जति खेर पनि कति मिठो बोल्ने, मैले कति घुर्की , गाली गरिरहेकी हुन्थें कहिलेकहिँ, तैपनि ऊ कति शान्त अनि चुपचाप हासी रहन्थियो ।

लग्थियो कति सोझो वनेको होला , तर ऊ सोझो होइन, मप्रतिको उसको आत्मिएता थियो। मैले कति कुरा न बुझ्दा खेरि उसलाई कति गाली गर्थें, छुचा शब्दहरु भन्थें, तर पनि ऊ कति सहनसिल थियो, मलाई केहि नराम्रो गालि गर्दैनथियो ।अचम्म लग्थियो कहिलेकाही, किन नरिसाएको होला भनेर। सायद रिस त उठेको थियो होला, तर मेरो सामु कहिले नि उसले त्यस्तो आचरण देखाएन । बरु मलाई छुची भनेर बोलाथ्यो ।मेरो उपनाम नै छुची भयो त्यसपछि । एकचोटी मैले उसलाई कसरी लेख्न सक्योउ एस्तो लेख भन्दाखेरि उसले सब आफ्नु मुटु निचोरेर शब्दहरुमा उतारेको मात्र हो, यसका भावहरु महसुस गर्न पो गाह्रो भन्दा महसुस गरे कि कति बलियो हुनु पर्ने रहेछ यी सरल भाषामा जिन्दगिका रेखाहरु कोर्न । तेहि भएर त, उसले एकचोटी मात्र पढ्न सकेको रहेछ उसका लेख मैले थपे- ‘झन् त उत्प्रेरित हुनु पर्ने नि, होइन र ?’ उसले भन्यो – ‘जति चोटी पढ्छु, उति नै चोटी रुन्छु नि म ।

एक मनले सहानुभूति जाग्यो भने, हासो उठ्यो अर्को तिर- ‘रुन्चे लेखक । एक जिज्ञासू पाठक वनेर मैले प्रस्नमाथि प्रस्न गर्दा पनि उसले फटाफट जवाफ दिदै गयो । सायद, मैले उसका निको भएका ती पुराना आला घाउ फेरी कोतरे कि ? जस्तो मलाई लागेको थियो । फेरी सोचें, कसैलाई आफ़्नॊ सम्झेर आफ्ना ती मुटुभित्र गाठो पारेर राखेका कुराहरु सुनाउनु जतिको आनन्द त के होला र संसार मा ? कति मन हल्का हुन्छ , कति मन शान्त हुन्छ, त्यो त भोग्नेले मात्र बुझ्न सक्छ । उसका कुरा सुनेर कति उत्प्रेरणा मिल्थियो । लग्थियो मान्छेहरु कस्ता कस्ता जंघारहरु त पार गरेर आएका छन्, मात्र अलिकति हिम्मत गर्नु पर्दो रहेछ । ऊसंग कुरा गर्दा पनि मन रमाइलो , अनि ढुक्क । खोइ किन यसरी विश्वास भयो, म आफै अन्जान थिएँ । ऊसंग कुरा गर्दा सायद मैले बिर्सी सकें कि ऊ एउटा लेखक अनि म एउटी पाठक भनेर।बस ढुक्कले कुराहरु गर्दा उसलाई पनि लाग्दो हो किन येति धेरै आत्मिएता भयको होला भनेर। उसले बारम्बार पनि भन्थ्यो किन के भएर यति राम्रो साथी जस्तै भएको होला भनेर। मलाई सामान्य लाग्थ्यो, अरे अब कुरा मिलेपछि त असल साथी भैहाल्छ नि जस्तो लाग्थ्यो । ऊ संग कुरा गर्दा मलाई रतिभर पनि पराईजस्तो लागेन र त त्यति स्वोछन्दले कुराहरु गरि रहेकी हुन्छु ।

मलाई लाग्थ्यो कि भेटहरु यादगार बनाउन, संबादहरुमा मिठास पाउन पुरानो चिनजान हुनैपर्दैन,लामोलामो कुराकानी पनि भइरहनुपर्दैन। कुनै कुनै भेटहरु, जीवनभरलाई अबिस्मरणिय हुन्छ ।कुनैकुनै संबादहरु यति रसिला लाग्छन्, अरु चिजले स्वादै दिदैन। त्यस्तै थियो हाम्रो मित्रता पनि ।उसको कुराबाट मलाई धेरै सहज हुन्थ्यो ।उसले बेलाबेला मा भेट्न भनेर कुरा गर्दा म उडाइ दिन्थें । म ख्याल गरेर कुरा गर्थें । तैपनि उसले मलाई उस्तै नरम, उस्तै भाब अनि उस्तै मिठो बोलि रहयो । एकदिन उसले मलाई धेरै माया छ है भन्दा मलाई अलि कस्तो कस्तो लाग्यो । लाग्यो माया त भैहाल्छ नि साथीहरुमा, भनिरहनु पर्दैन जस्तो लाग्यो। मैले उसलाई हुन्छ भनेर गालिका शब्दहरु पनि भनें होला, तर पनि उसले मलाई कहिलै पनि केहि नराम्रो शब्द भनेन, बरु उल्टै झन् मेरो घुर्की देखेर रिसायोउ हो भनेर बारम्बार माफी माग्यो । त्यतिबेला मलाई अलिकति ग्लानी हुन्थ्यो उसले बिनाकारण माफी मागेकोले । पछि मैले त्यस्तै केहि कुरा येतिक्कै ख्यालख्यालमा लेखेकी थिएँ , उसले त्यसलाई सत्य ठानी आफ़्नॊ कुराहरु राख्यो । उसले मलाई धेरै माया गर्ने कुरा भनेपछि म त एकछिन छक्क परें । मैले केहि सोच्ने सक्किन्न त्यति बेला । फेरी त्यस्तो खासै ठुलो कुरा पनि थिएन । साथी हरु बिचमा त्यति आत्मिएता त भैहाल्छ नि जस्तो लाग्यो । उसले मलाई धेरै माया गर्ने कुरा बारम्बार भनेपछि मैले बिगतका कुरा सोच्न थालें । उसका कुराहरु, मप्रति को उसको व्यबहार अनि सबै ।

मलाई कुनै समय लागेन उसलाई ऊ राम्रो मान्छे हो, असल साथी हो भन्ने कुरामा । मेरो अन्तर आत्माले मान्छे छिन्न कुनै गल्ति गर्ने सक्दैन । ऊ असल मान्छे हो, मेरो मनले यही भन्यो । आखिरमा एउटा साथीलाई पनि त माया नै गर्ने हो , के नै जान्छ र जस्तो लाग्यो। मलाई थाहा थियो, मान्छेको मन न हो, कहिले दुख्छ , कहिले खुसि हुन्छ , तर सत्य सधै तितो नै हुन्छ । उसको बोलि अनि कुराबाट प्रस्ट थियो कि ऊ मलाई एउटा असल साथीको रुपमा मात्र होइन, एउटा मायालुको रुपमा माया गर्दो रहेछ । म एकछिन त केहि सोच्ने सकिन्न । किन अनि कसरि र कहिले भयो एस्तो ! मैले याद नै गर्न सकिन्न । के मैले नै उसलाई एस्तो बनाए कि ऊ आफैले । कसरि एस्तो भावना पलायो एक्कासी ।किनकि यो उमेरमा अहिले आएर किन एस्तो । एक मनले त मलाई रिस उठ्यो, ऊसंग अनि आफैसंग पनि ।

सायद अरु भएको भएमा कति गाली गरिसक्थें होला, अगाडी भाको भए हात उथिसक्थ्यो होला, कर्कश बोलि ऊमाथि बर्सिसक्थ्यो होला, तर मलाई किन हो कुन्नि तेस्तो केहि सोच आएन, न त रिस नै उठ्यो । उल्टो मलाई नजानिदो किसिमले मन खुसि लागेको भान भयो। किन एस्तो भयो, ऊ को हो र मेरो ! के नै जानेकी छु र उसको बारेमा, न त घर , न त के , जाबो एउटा लेख पढेर कहाँ मान्छे चिनिन्छ र जस्तो लग्यो। तैपनि ऊ प्रति मेरो अझै अथाह विश्वास थियो, भरोसा थियो । मैले बल्ल बुझें , उसले भनेको कुरा कि हामीबीच केहि त पक्कै छ, जसले हामीलाई येसरी तानी रहेको छ, तर के त नि ! अहं थाहा छैन, उसको येउतै जवाफ हुन्थ्यो। तर मसग हजार कारणहरु छन् उसलाई विश्वास गर्नुमा। मेरो यो विश्वास गलत साबित नि हुन सक्छ, फेरी पनि म ऊ गलत छ भन्ने कुरा मान्न तयार नै थिएन् ।

म यो सब किन र के भै रहेको छ , सोच्ने सकेन । हामीबीच लेखाई, अनि पाठकको नाता बाहेक के नै थियो र । एउटा असल साथीसम्मको नाता त ठिकै थियो। म तेही कुरा म अडिग थिएँ । तर मान्छे को मन न हो, कहिले के सोच्छ, कहिले के । म उसलाई न गालि गर्न सक्छु, न त केहि भन्न नै । म आफै किन येति ऊ प्रति आसक्त अनि झुक्दै छु, म आफै देखेर छक्क । साचै उसले भनेको जस्तो हामीबीच केहि छ त । मलाई विश्वास लाग्दैन एस्तो कुराम़ा।र पनि खोइ नजनिदो तरिकाले मैले उसको सबै कुरालाई अनुसरण गर्दै गएकी छु । के साच्चै म पनि उसलाई माया गर्छु त ? अहं थाहा छैन मलाई , थाहा छैन। यदि छैन भने, मैले किन उसको कुरा नकार्न सकिन्न या मैले चाहिन्न । म किन एस्तो हुदै गएँ ? उसले मलाई बिस्तारै किन तेसरी आफुतिर तान्दै लग्यो । र म आफै पनि जानीजानी ऊ तिरै किन दोहोरिए। मेरो मन मस्तिस्ले केहि सोच्ने सकेन ।

फेरी शान्त मनले सोंचे, मान्छे को जीवन न हो, आज भोलि दुइ दिनको न हो, माया गर्दैमा के नै जान्छ र ! माया भन्ने कुरा जति गर्यो उति बढ्छ । फेरी ऊ पनि त असल राम्रो साथी नै त हो मेरो। साथीलाई पनि त माया नै गरिन्छ । उसको मायाले मलाई उत्प्रेरित गर्छ अनि मेरो मायाले उसलाई प्रेरणा हुन्छ भने माया गर्दैमा के नै जान्छ र ! र मैले पनि उसलाई माया गरें। त्यसपछि म पाठक, ऊ साथीबाट मेरो मायालु हजुर बन्यो । हो मेरो मायालु हजुर, जसलाई म़ यति धेरै माया गर्छु कि त्यसको कुनै सीमा नै छैन। सबभन्दा खुसि को कुरा त , उसले मलाई मैलेभन्दा धेरै माया गर्छ, अनि आफुलाई येति धेरै निस्वार्थ माया गर्ने मान्छेलाई माया न गरि सुखै छैन। उसले मलाई मन देखि माया गर्छ , म़ देख्न सक्छु उसका ती निर्दोष आखाहरुमा मेरो लागि उसको माया। थाहा छैन, म जस्तो घमण्डी छुचीले कसरी माया गर्न सिक्यो। सायद यो सबै मेरो मायालु हजुरको अपार अनि साँचो मायाले गर्दा हो। उसले नै माया गर्न सिकायो, माया भन्ने कुरा के हो भनेर ।प्राप्ति मात्र माया होइन, बिनाकारण माया गर्नु नै ठुलो माया हो, बिना कुनै स्वार्थ ।

मेरो मायालु हजुरले मलाई यति धेरै माया गरेको देखेर नै म़ पग्लिए सायद। उसको मायाले गर्दा नै ।किकी हामीले न त कहिले सोचेका थियो न त केहि । बस मन बाट भएको माया । हामी बीच धेरै पर्खालहरु छन् , हामी खोलाको वारी अनि पारि छौ तर पनि हामीबीच बलियो विश्वास छ, भरोसा छ, एक अर्काप्रति, सायद त्यही माया हो जस्तो लाग्छ मलाई । मैले जीवनमा धेरै थरिको माया नि देखें, तर उसको जस्तो देखेन । माया गर्दैमा संगै हुनुपर्छ भन्ने नि छैन, टाढा रहेर पनि एक अर्काको मनमा सधै बलियो अनि उत्प्रेरित गर्ने मन भए त भैहाल्यो नि, जसले जीवनका संघर्षहरुम़ा बलियो मनोबल दिन्छ । सायद येस्तै सोचेर नै होला, मैले नि माया गरेको। उसको त्यो अपार माया देखेर नै मैले आफुलाई रोक्न सकेन उसलाई माया गर्न । थाहा छैन, किन यति धेरै माया पलायो एकाएक यसरी । ऊ मेरो साथम़ा छैन, र पनि ऊ छ मेरो जीवनका रंगहरुमा। मैले फेर्ने हरेक स्वासमा छ, मैले हेर्ने आखाँहरुम़ा छ । ऊ त जताततै सर्बत्र छ ।मात्र फरक यति हो , हामीबीच भूगोलले टाढा छ , तर मन अनि विश्वास अनि मायाले हामी संगै छौ एक अर्काको मनमा, आत्माम़ा ।

थाहा छैन, यो कस्तो माया । मैले बुझ्दिन्न र पनि मलाई यही माया किन प्यारू छ ! किन उसलाई नै माया गरिरहू जस्तो लाग्छ । के जादू गर्यो उसले मलाई त्यस्तो कि म जानीजानी ऊतिरै गइरहेकी छु । उसले मलाई किन यति धेरै माया गर्यो । के स्वार्थ थियो कि ! कि ऊ पनि अरु जस्तै बस मेरो मनसंग केहि छिनको लागि मात्र टहलिन मात्र खोज्दैछ । कि उसको मायाको स्वार्थ । थाहा छैन मलाई । तर पनि जस्तो भए नि उसको माया लाग्छ, आफुभन्दा धेरै । यो सब सायद उसकै मायाले गर्दा हो, उसले नै मलाई यति धेरै माया दीरहेको छ, र त मलाई पनि उसलाई माया गरिरहु जस्तो लाग्छ । विश्वास छ कि यो माया सधै रहीरहोस येसरी नै, कहिले पनि नटुटोस, कम नहोस, अनि रही रोहोस अनन्त अनन्तसम्म । यस्तै सोच्दै थिएँ म, तेती नै बेला उसको मेसेज आयो, ‘माया के गर्दैछौ तिमि ?’ भनेर । हो उसको नै हो म माया । ऊ मेरो मायालु हजुर अनि म उसकी माया । न भेट न देखाई, बस विश्वास अनि भरोसामा बसेको हाम्रो माया । न त केहिले रोक्न सक्यो, न त छेक्न नै । हाम्रो माया एक अर्काप्रतिको सम्मान हो, विश्वास हो अनि मिठो याद हो। फेरी उसको मेसेज आउछ । ‘माया के खायो?’ सन्चो भयो बाबा तिमीलाई अहिले? ‘ भन्न त मन लाग्छ नि कतिकति, मेरो मायालु हजुरबिना म कसरी सन्चो हुन सक्छु र ? र पनि कति धेरै मनोबल मिल्छ दुइ शब्दले मात्र पनि ।

तर आजकल उसले लेख्न छोडेको छ । ऊ सायद अब अरु कामतिर वेस्त हुन थाल्यो । धेरै दिनसम्म नि केहि पढ्न नपाएपछि मैले उसलाई लेख्नुस न किन नलेख्नु भाको भनेर सोधें । उसले ‘लेख्छु नि अब है बाबा मात्र भनिरहयो ।मलाई राजनीति अनि काल्पनिकताका सिर्जनाहरु त्यति मन पर्दैन । उसले एकदिन त्यस्तै समाचार जस्तो रचना पढ्नुस भनेर पठाए, मैले सिधै नाक खुम्च्याउँदै नपढ्ने त्यस्तो राजनीति भनेर भनें । उसले के सोच्यो , थाहा भएन तर एउटा लेखक अनि पेशाले पत्रकार मान्छेलाइ त्यस्तो भन्नु अलि उचित लागेको थिएन । उसले बडो धैर्य राखेर भन्यो, ‘आफ़्नॊ मायाले आलोचना नगरे, नभने अरु कसले भन्छ र ?’ सायद ऊ मेरो प्रतिक्रिया सुन्न मरिहत्ते गर्दै थियो ।उसले किन एकाएक यसरी लेखन यात्रालाइ बिश्राम गर्यो त नि । उसको कलम किन रोकियो त । उसको लेखाइले जति पाठकको मन जितेको छ, त्यति नै उसले नलेख्दा खेरि त्यही कलमको निबले चस्सचस्स भएजस्तो भान हुन्थियो । नजिक मात्र भएको भए म आफै पनि उसलाई एउटा कलम उपहार दिन्थें, उसलाई लेखनलाई थप प्रेरणा स्वरुप ।

उसले लेखनलाई समय पो पाएन कि या त उसलाई लेख्ने मन लागेन कि । कि त लेख्ने कुनै आधार नै पाएनन कि । मलाई अचम्म लाग्यो । मलाई यसरी राम्रा अनि गहन लेख्ने लेखकहरुलाइ लेख्नुस भनेर जबर्जस्ति नि गर्न मन लाग्दैन, यस्तो गर्नु भनेको त लेखाई नै होइन, त्यो त मात्र कोरा कागजमा मसि छर्नु जस्तै हो, न कुनै भाब, न कुनै जीवन्तता । सोचें एक मनले, आखिर लेख्न त कहाँ सजिलो छ र नि । लेखकका दुःख पनि कति हुन् । उसले मसंग चिने देखिन लेखेकै छैन मनको मसिले । म उसको जीवनका विविध कुराहरुको बारेमा बुझ्न चाहन्थें, सुन्न चाहन्थें । भन्न्न त उसले पुरै एउटा जीवन किताब नै लेख्दैछु भन्थियो । तर म उसको त्यो हरेक लेखाईको पहिलो पाठक बन्न चाहन्थें । मसंग धैर्यको सीमा थिएन । मलाई अहिले नै बुझ्ने, पढ्ने रहर थियो उसका ती जीवन कथाहरु ।

यो समय नै हो म ऊ प्रति यति धेरै आसक्ति भएकी । के थाहा भोलि यो रहर न हुन नि सक्छ, या त समयको डोरी कहाँ अनि कता पुग्छ भन्ने कुरा कसलाई थाहा हुन्छ र ? मैले भनें पनि उसलाई, कि पछि प्रिन्ट गरेर दिए पनि पढ्न समय न होला । एक हिसाबले त्यो मेरो घुर्की थियो उसलाई अनि सत्य पनि तर उसले अचानक किन लेख्न छोड्यो । उसको त पेशा नै लेख्ने हो । म मात्र घोत्लिरहें।एकदिन मैले उसलाई हामी भेटौ न भनेर प्रस्ताब राखें । तर भेट्न त्यति सजिलो त पक्कै थिएन । ऊ भूगोलको उत्तरतिर अनि म पुर्वतिर।हाम्रो भेट त मात्र शब्दबाट भएको छ ।

जीवनमा धेरै रहरहरु मध्ये एउटा तिब्र रहर यो पनि छ कि मेरो मायालु हजुरसंग एक दिन त भेट हुन्छ अनि कति कुरा गर्नुछ, कति सोध्नु छ, कति सुन्नु छ एकटकले ती निर्दोष आखाहरुमा, ती बोलिहरु सुन्नु छ जसले यति मिठो र नरम बोल्छ अनि बनाउनुछ ती यादगार पलहरु जसले सिंगो जीवनलाई एउटा मिठो बनावोस । अनि ती हातहरु चुम्नुछ जसले यति गहन लेख लेख्छ, त्यो मन स्पर्श गर्नु छ जसले मलाई यति धेरै माया गर्यो । ती भेटहरुलाई हामी मायाको अभिछिन्न पलका रुपमा सँगालेर राख्नुछ । आकाश भन्दानि उच्च अनि सागर भन्दा गहिरो माया गर्ने मेरो मायालु हजुरसंग भेट्ने मिठो पल अझै सम्म नि बाकि छ । त्यो रहर, त्यो उत्साह अनि त्यो उमंग अझै उस्तै छ र रही रहने पनि छ । यतिकैमा मायालु हजुरकै मेसेज आउछ फेरी- ‘माया, के गर्दै छौ ? तिमीसंग एकदम भेट्न मन छ अनि रुन मन छ बाबा ।’ हसिलो ऊ किन रुन मन गर्छ, म छक्क पर्छु अनि म लेख्छु – रुन्चे लेखक ।

प्रतिक्रिया