अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

टी–२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा, ज्ञानेन्द्र, शरद र वसन्त परेनन्

बिआरटीनेपाल २०७६ असोज २ गते १०:०९ मा प्रकाशित

सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वेन्टी र ओमानमा हुने टी–२० सिरिजका लागि बिहीबार नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित टोलीले पारस खड्काको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो ।

नेपालले घोषणा गरेको टोलीमा अलराउन्डर कुशल मल्ल र ब्याट्सम्यान इशान पाण्डे पहिलोपटक टोलीमा परेका छन् । त्यस्तै, युवा खेलाडी दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ भने ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र वसन्त रेग्मी टोलीमा अटाएका छैनन् ।

छनोट हुने खेलाडीमा कप्तान खड्कासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी, पवन सर्राफ र सन्दीप लामिछाने छन् । त्यसैगरी, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख र रोहितकुमार पौडेल छन् ।

नेपालले सिंगापुरमा आयोजकसँगै टेस्ट राष्ट्र जिम्बाब्वेसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ । नेपालले असोज १० गते जिम्बाब्वेसँग खेल्नेछ भने असोज ११ गते आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल यो सिरिज सकिएपछि ओमान प्रस्थान गर्नेछ । यही असोज १८ देखि २३ गतेसम्म हुने उक्त प्रतियोगितामा पाँच राष्ट्रबीच टी–२० सिरिज हुनेछ । जहाँ नेपालसहित आयोजक ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड छन् । यसै सिरिजलाई मध्येनजर गरेर नेपालले भारतीय प्रशिक्षक बुरिटी भेन्कटरामलाई बलिङ कन्सल्टेन्ट प्रशिक्षकमासमेत नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू