अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

नेपाल वायुसेवा निगममा ४० अर्ब ऋण, ५ अर्ब नोक्सान

बिआरटीनेपाल २०७६ असोज १ गते ८:४७ मा प्रकाशित

अर्बौको घाटामा रहेको नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।कार्यदलले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई प्रतिवेदन बुझाएको हो । पूर्व पर्यटनसचिव सुशील घिमिरे संयोजकत्वको ५ सदस्यीय कार्यदलले मन्त्री भट्टराईलाई सिंहदरबारमा बुझाएको प्रतिवेदनमा निगमको वित्तीय सुधारका लागि तत्काल पहल गर्न सरकारलाई सुझाव दिइएको छ । रणनीतिक साझेदार तत्काल खोजी गरी निगमको व्यवस्थापनलाई चुस्त बनाउन सझाव दिइएको कार्यदलका संयोजक घिमिरेले जानकारी दिनुभयो ।

प्रतिवेदनमा नेपाल वायु सेवा निगम राष्ट्रका लागि आवश्यक भएको उल्लेख गर्दै त्यसलाई सार्वजनिक कम्पनीको मोडलमा अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याइएको छ । प्रतिवेदनमा निगम पदाधिकारीको नियुक्तिमा सरकारले गरेको कमजोरीका कारणले निगममा सुधार हुन नसकेको निष्कर्ष निकालिएको छ ।

कार्यदलले निगममा ५ अर्ब २१ करोड ७६ लाख नोक्सान तथा ४० अर्ब रूपैयाँ लोन रहेको जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि ९ वटा र अन्य ४ वटा एयर बस विमान रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संयोजक घिमिरेले निगमसँग ३ अर्ब ६० करोड ७० लाख जिन्सी सम्पत्ति रहेको पाइएको बताउनुभयो ।

प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराईले कार्य दलको प्रतिवेदनलाई सरकारले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिनुभयो । उहाँले सार्वजनिक कम्पनी अन्तरगत नयाँ रणनीतिक साझेदार समेत भित्र्याएर निगमको व्यवस्थापनलाई अघि बढाउने विषयमा सरकार गम्भिर रहेको बताउनु भयो । त्यसका लागि आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पार्न केही समय लाग्ने मन्त्री भट्टराईको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू