अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

राजतन्त्रका प्रेतहरूका लागि पनि लोकतन्त्र – मन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ असोज १ गते ८:४० मा प्रकाशित

संघीय सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले लोकतन्त्र राजतन्त्रवादीहरुका लागि रहेको बताउनुभएको छ । विराटनगरमा बुधबारसाँझ प्रेस संगठन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजतनत्रका पक्षधरहरु अनावश्यकरुपमा कुर्लिदै हिंडेको आरोप लगाउनुभयो ।

संघीय गणतन्त्रभन्दा अगाडिको व्यवस्थामा भएका नमिता–सुमिताकाण्डको खोजी कहाँ भयो भन्ने प्रश्न गर्दै उहाँले लोकतन्त्र भएको कारणले बोल्ने, लेख्ने स्वतन्त्रता भएकै कारण व्यवस्था विरोधीहरू कुर्लिरहेको दाबी गर्नुभयो । मन्त्री बाँस्कोटाले जनताले निर्वाचित गरेको संस्था तथा जनप्रतिनिधिलाई आलोचना गर्ने अधिकार जनताले राख्ने तर आलोचनाको नाममा सरकार मनपरेन भनेर व्यवस्थाका विरुद्ध व्यक्ति वा वंशको तन्त्रतर्फ फर्किन सकिन्छ कि भनेर लाग्न खोज्नु मुर्खता भएको टिप्पणी गर्नुभयो ।

बाँस्कोटाले रुसमा लेनिनले, अमेरिकामा रुज्वेल्टले, चीनमा देङसिया पिङले गरेजस्तो नेपालमा केपी ओलीको नेतृत्वमा समृद्धिको यात्रा सुरु भएको दावी गर्नुभएको छ । तर, कतिपय नागरिक समाजका नाममा भत्तावालाहरूले विषय नबुझी कोकोहोलो मच्चाएको उहाँको भनाइ छ । संचारको क्षेत्रमा क्लिनफिड लागू गर्न लागेको, समानुपातिक विज्ञापन वितरण प्रणाली अबलम्बन गर्न लागेको र श्रमजीवि पत्रकार ऐनअनुसार न्यूनतम पारिश्रमिक लागू गर्न नीतिगत व्यवस्था गरेको बताउँदै बाँस्कोटाले पत्रकारले रुन नपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू