अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५८ | Colorodo: 21:13

नेपालमा पुस्तकालय बनाउन अमेरिकामा डिनर

बिआरटीनेपाल २०७६ भदौ ३१ गते १४:३७ मा प्रकाशित

टेक्सस, नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले नेपाली जर्नी नामक संस्थाले ड्यालसमा गाला डिनर कार्यक्रमको आयोजना गरिएको छ । पेसाले नर्स रहेकी मौसमी श्रेष्ठको अगुवाइमा रहेको नेपाल जर्नी नामक संस्थाले नेपालका विभिन्न स्थानमा पुस्तकालय निर्माण गर्न अमेरिकामा गाला डिनर कार्यक्रम गर्दै आएको छ ।

महाभूकम्पपछि भत्किएका विद्यालय र पुस्तकालयलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले विगत चार वर्षदेखि गाला डिनर कार्यक्रम आयोजना गरेर सहयोग रकम जम्मा गर्दै आएको छ । हाल चितवनको भरतपुर ४ लंकुमा दुई करोड लागतको पुस्तकालय निर्माण गर्न लागेको संस्थाले यस अघि काठमाडौँ लगायत अन्य स्थानमा पनि सहयोग गरेको छ ।

स्थानीय तहले जग्गा सहयोग गर्दा पनि दुई करोड लागतमा बन्न लागेको पुस्तकालयका लागि गाला डिनरबाटै हालसम्म ६० लाख रकम जम्मा भइसकेको जर्नीकी संयोजक मौसमी श्रेष्ठले बताइन् । ड्यालस वरपरका नेपाली र अन्य समुदायका व्यक्तिहरूको समेत सहभागितामा पाँच तारे हिल्टन होटेलमा सम्पन्न गाला डिनरमा नेपाली संस्कृति र पर्यटन प्रवर्धनको सन्देश समेत दिइएको थियो ।

आइडिया फर नेपालकी अन्तर्राष्ट्रिय निर्देशक चिंग चिंग छिको प्रमुख आथित्य रहेको कार्यक्रममा स्थानीय बेलर स्कट एण्ड ह्वाईट हेल्थका डाक्टर डोनाल्ड ई सेवेल मुख्य वक्ता रहेका थिए । कार्यक्रममा बोल्दै दुवै जनाले नेपाल र नेपालीका साथै नेपाल जर्नीको प्रशंसा गरेका थिए ।

नेपाल जर्नी सबैका लागि उदाहरण हुन सक्ने भन्दै संयोजक मौसमी श्रेष्ठलाई दुवै जनाले धन्यवाद समेत दिएका थिए । संस्थाका अन्तर्राष्ट्रिय संयोजक भानु खरेलले संस्थाले गरेका कार्यहरूका बारेमा प्रस्टाएको कार्यक्रममा संयोजक श्रेष्ठले आफू पेसाले नर्स भए पनि पटक पटक जागिर छोडेर भए पनि देशका लागि केही सहयोग गर्न चाहेको बताएकी थिइन् ।

आफू एउटा व्यक्तिले मात्र भन्दा पनि देशका लागि केही गरौँ भन्ने भावना लिन खोज्नु नेपाल जर्नीको उद्देश्यको भएको र यसमा धेरैले साथ दिँदै आएको उनको भनाई थियो । पोखरामा जन्मेर चितवनमा घर भएकी श्रेष्ठ हाल श्रीमान् बद्री र दुई सन्तानसँगै विगत दश वर्षदेखि ड्यालसमा बस्दै आएकी छन् ।

तस्बिर: स्वयम्भू शाक्य

प्रतिक्रिया