अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

साफ यु–१८ च्याम्पियनसिपको तयारी पूरा, नेपाली टोलीको घोषणा

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:५१ मा प्रकाशित

तेस्रो संस्करणको १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार पत्रकार सम्मेलन गर्दै हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयको मैदानमा आउँदो असोज ३ गतेबाट हुने च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको हो ।

च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्नेछन् । नेपाल रहेको समूह ‘ए’मा माल्दिभ्स र भुटान छन् । माल्दिभ्सको टोली नेपाल आइसकेको छ । अरु टोलीहरु केही दिनमा आउने एन्फाले जनाएको छ । समूह ‘बी’मा भारत, बंगलादेश र श्रीलंका रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

यसैबीच, मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको छ । घोषित टोलीको गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना रहेका छन् । डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोहन दोङ, अलिक रुम्बा र एन्जल महर्जन छन् ।

त्यस्तै, मिडफिल्डरमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनीष थापा, कौशल फुयाँल र नितिन थापा रहेका छन् । पाँच स्ट्राइकरमा ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनीष डाँगी रहेका छन् । नेपालले पहिलो खेलमा असोज ३ गते माल्दिभ्ससित खेल्नेछ ।

प्रतिक्रिया