अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१६ | Colorodo: 00:31

राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

बिआरटीनेपाल २०७६ भदौ ३१ गते ९:२८ मा प्रकाशित

राष्ट्रियसभाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई सर्वसम्मति पारित गरेको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई संसोधनसहित पारित गरेको हो । सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट संदेशसहित प्राप्त राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले सर्वसम्मति जनाएको थियो ।

यसअघि विधेयकमाथि १३ जना सांसदहरूले संयुक्त रूपमा दर्ता गराएको संसोधन प्रस्तावमा संयुक्त संशोधनकर्ताहरूको तर्फबाट सांसद ठगेन्द्र प्रकाश पुरीले दफा ३६ बाहेकका अन्य प्रस्ताव फिर्ता लिनुभएको थियो । त्यसैगरी अर्का संशोधनकर्ता सांसद रामप्रित पासवानले पनि आफ्नो संशोधन प्रस्ताव पनि फिर्ता लिनुभएको थियो ।

राष्ट्रियसभा सदस्यहरुले समसामयीक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसद अनिता देवकोटाले मुलुकका विभिन्न स्थानमा हत्या हिंसाका घटना भईरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद कविता बोगटीले हुम्ला जिल्लाको वैकल्पिक यातायातको माध्ययम भनेको हवाईसेवा मात्रै भएको भन्दै विगतमा वायु सेवा निगमसँग भएको सम्झौता लागु गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खिमकुमार विश्वकर्माले एनसेलको लाभ कर सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले राज्यलाई अर्बौ रुपैयाँ घोटला भएको भन्दै सो आदेशबारे चासो देखाउँदै सो सम्बन्धमा सरकारको धारणा माग गर्नुभयो । सांसद चक्रप्रसाद स्नेहीले राष्ट्रप्रमुखलगायत राजनीतिक दलका नेताहरुलाई सार्वजनिक रुपमा गालीगलौग गर्दै हिड्ने छाडा प्रवृत्तिका व्यक्तिलाई नियन्त्रणमा लिई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू