अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१ | Colorodo: 11:56

नेपालमा उत्तर कोरियाली लगानी प्रतिबन्ध, भएका व्यवसाय बन्द गर्न अल्टिमेटम

बिआरटीनेपाल २०७६ भदौ ३० गते ८:११ मा प्रकाशित

संयुक्त राष्ट्र संघका केही प्रावधान र अमेरिकाको दबाबपछि नेपालमा रहेका उत्तर कोरियाली व्यवसाय बन्द हुने भएका छन् । उत्तर कोरियाली नागरिकले नेपालमा सञ्चालन गरेका व्यवसाय र स्वीकृतिको प्रक्रियामा रहेको थप लगानी गर्न नपाउने गरी उद्योग विभागले उत्तर कोरियाली कम्पनीलाई निर्देशन दिएको हो ।

उद्योग विभागका अनुसार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव नम्बर २३९७ अनुसार नेपालले उत्तर कोरिया र त्यहाँका नागरिकले लगानी गरेको व्यवसाय बन्द गर्नुपर्ने हुन्छ । प्रस्तावमा उत्तर कोरियाले प्रतिबन्धित आणविक कार्यक्रम सञ्चालन गरेकाले कडा नाकाबन्दी लगाउने उल्लेख छ । यस सम्बन्धमा संयुक्त राष्ट्र संघले नेपालको परराष्ट्र मन्त्रालयलाई गएको वर्ष नै पटक–पटक पत्र पठाएको थियो ।

२०७६ सालको असार १५ गते नै संयुक्त राष्ट्र संघ र परराष्ट्र मन्त्रालयका प्रतिनिधिकोे बैठकले नेपालमा रहेका कोरियाली व्यवसाय १५ दिनभित्र बन्द गर्न सम्बन्धित व्यवसायी र नेपालमा रहेका उत्तर कोरियाली दूतावासलाई पत्र पठाएको थियो । तर असार २९ गतेसम्म पनि व्यवसाय बन्द नभएको र पटक–पटक फोन गर्दा पनि निर्णय कार्यान्वयन नभएको उद्योग विभागले जनाएको छ ।

काठमाण्डौमा रहेको उत्तर कोरियाली दूतावासका डीसीएस किम जोङलाई पनि पटक–पटक फोन गरिएको तर अझैसम्म बन्द नभएकाले हरेक व्यवसायका लगानीकर्तालाई परिपत्र गरिएको उद्योग विभागले जनाएको छ । विभागको परिपत्रअनुसार असोज १४ गतेसम्म उनीहरुले उद्योग तथा व्यवसाय बन्द गर्नुपर्ने या स्वामित्व हस्तान्तरण गर्नुपर्ने हुन्छ । नेपालमा उत्तर कोरियाली नागरिकको स्वामित्वमा ९ वटा व्यवसाय छन् । यसमध्ये धेरैजसो होटल तथा रेष्टुरेन्ट रहेका छन् ।

नेपालमा उत्तर कोरियाली नागरिकलाई काम नदिन र व्यवसाय गर्न नदिन अमेरिकाले पनि बेला बेलामा दबाब दिइरहेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू