अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५६ | Colorodo: 16:11

अस्ट्रेलियामा दुई दर्जन कलेजको दर्ता खारेजी, नेपाली विद्यार्थीलाई पर्ला त असर?

बिआरटीनेपाल २०७६ भदौ ३० गते ७:३३ मा प्रकाशित

अस्ट्रेलियाको शैक्षिक क्षेत्र नियमनकारी निकाय (एएसक्युए) ले २७ वटा कलेजहरूको दर्ता खारेज गर्ने निर्णय गरेको छ । व्यावसायिक शिक्षा तथा प्राविधिक तालिम दिइरहेका यी कलेजहरूलाई गत सेप्टेम्बर १० तारिखमा आसक्वाले दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

आसक्वाले नीजि क्षेत्रद्वारा संचालित कलेजहरूले तोकिएका न्यूनतम मापदण्डहरू पूरा नगरेको भेटिएमा तिनीहरूको दर्ता खारेजी गर्दछ । अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (एएसक्युए) ले यो निर्णय गरे तापनि सम्बन्धित कलेजले माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार भने रहन्छ ।

यसअघि पनि विभिन्न भेट कलेजहरूको दर्ता खारेजी हुँदा ती कलेजमा अध्ययनरत विद्यार्थीहरूले समस्या भोग्नुपरेको थियो । त्यस्तो समस्या भोग्नेहरूमा नेपाली विद्यार्थीहरू पनि उल्लेख्य मात्रामा थिए । यसरी बारम्बार व्यावसायिक शिक्षा तथा तालिम दिने कलेजहरूको दर्ता खारेजी हुनुले यस्ता कलेजहरूको गुणस्तरमाथि प्रश्न मात्र उठ्ने होइन यसले अस्ट्रेलियाको समग्र शैक्षिक प्रणालीमाथि पनि प्रश्न चिह्न उठाउने काम गरेको देखिन्छ ।

अस्ट्रेलियामा शैक्षिक गुणस्तरियतालाई कायम राख्नका लागि आसक्वाले कलेजहरूको नियमन गर्ने प्रक्रिया पहिलेदेखि नै चलिआएको हुनाले यसलाई नौलो मान्नुपर्ने आवश्यकता नरहेको कानुन व्यवसायी डा. शमशेर सिंह थापा बताउनुहुन्छ । अस्ट्रेलियन एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन (एका) का अध्यक्ष परशुराम अधिकारीले भोकेसनल तथा तालिम दिने कलेजहरूको दर्ता खारेज हुनु नयाँ कुरा नभए पनि यस्ता घटना बारम्बार दोहोरिरहनुले ती कलेजहरू गुणस्तरीयतातर्फ चुकेका त छैनन् भन्ने प्रश्न खडा बताउनुहुन्छ ।

पछिल्लो समय करिब ५० हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको अनौपचारिक तथ्याङ्क छ । नेपाली विद्यार्थीहरू पैसा जोगाउन लहलहैमा न्यूनतम मापदण्ड पनि पूरा नगरेका कलेजहरूमा आउँदा पछि समस्यामा पर्ने गरेका छन् । यसले गर्दा एकातिर विद्यार्थीलाई मानसिक चिन्ता थपिने त छँदैछ त्यसमाथि दर्ता खारेज भइहालेको खण्डमा नयाँ कलेजमा भर्ना हुँदा समयको समेत बरबादी हुने गरेको छ । त्यसैले गर्दा पनि विद्यार्थीहरूले आफूले पढ्ने कलेज छान्दा सावधान हुनुपर्ने जानकारहरू बताउँछन् ।

विदेशिने रहर, बाध्यता तथा गलत परामर्शले गर्दा नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा आएर पनि बारम्बार आफ्नो भविष्यलाई दाउमा लगाउन बाध्य भएका छन् । सरकारले नेपालमा परामर्श व्यवसायलाई नियमन गर्न नसक्नुले पनि यस्तो समस्या अझ भयाभह बनेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू