अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

तपाईँलाई कस्तो छ बा

शङ्कर अधिकारी २०७६ भदौ २९ गते २१:२८ मा प्रकाशित

बा ! हामीलाई यहाँ सन्चै छ, तपाईँलाई कस्तो छ ?
तपाईँलाई तुलसी मठमा सुताउँदा बिझायो बा ?
तपाईँको मुखमा आगो राख्दा पोल्यो कि पोलेन बा ?
म कस्तो पापी है, आफ्नै बाको मुखमा आगो झोस्ने,

म तपाईँलाई जलाएर एक्लै घर फर्केँ धुवाँसँगै,
एक्लै छोड्दा मसँग रिस उठेन? बा!
किरिया गर्दा तपाईँलाई किन प्रेत भनेको बा ?
अनि तेह्र दिनपछि पितृ बन्नुभयो त बा ?

कि हामीले तार्न सकेनौँ ?
बा ! अहिले पनि तपाईँलाई दम छ ?
औषधि र तातोपानी कसले दिन्छ त बा ?
तपाईँले अन्तिम सास फेर्दा वैतरणी गरिसकेका थियौँ

वैतरणी सजिलै तर्नुभयो त बा ?
हामीले गरेको दान सबै पाउनुभयो त बा ?
टिभी जोड्न जान्नुभयो त बा ?
ग्याँस बाल्न पनि जान्नुभयो त बा ?

यति पनि नजान्ने बुढा भन्ने नातिनीसँग भेट भयो कि भएन बा ?
तपाईँलाई भात पकाउन असाध्यै अल्छी लाग्थ्यो नि!
कसले पकाइदिन्छ त बा तपाईँलाई ?
कि तपाईँले आफ्नो आमालाई भेट्नुभयो ?

अघिल्लो रात सपनामा बालाई देखेँ भन्नुहुन्थ्यो नि,
हजुरबाले कान्छा भनेर हात समाउनुभयो त बा ?
मुठ्ठी दान सबै बोक्नुपर्छ भन्थे पण्डितले
भारी गरौँ भयो कि बा ?

मोबाइलमा रिचार्ज कसले गरिदिन्छ त बा ?
तपाईँको फोन डायरी त यहीँ छुटेछ
नम्बर याद छ त बा ?
घडी र औँठी पाउनुभयो कि भएन बा ?

केही चाहियो भने भन्नु है बा ।
छोडेर गएपछि त सपनामा पनि आउनुभएन नि बा ?
कि मसँग रिसाउनुभयो ?
आमासँग पनि रिसाउनुभएको हो र ?

मलाई सारै न्यास्रो लागेको छ बा!
एक पटक सपनामा त आउनु न बा!
तपाईँलाई धेरै कुरा सोध्नु छ ।

 

========
धादिङ

प्रतिक्रिया