अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 20:39

मेरिल्यान्डमा नवौँ इन्द्र जात्रा भव्यताका साथ सम्पन्न

विजय थापा २०७६ भदौ २९ गते ११:१६ मा प्रकाशित

नेपाली समुदायले ताने कुमारी सहितको रथ

अमेरिकाको मेरिल्यान्डमा अमेरिका मै निर्माण गरिएको कुमारी सहितको रथमा राखेर सफलतापूर्वक वर्ष २०१९ को येन्या पुन्ही (इन्द्र जात्रा) मनाइएको छ । यो वर्ष समेत गरेर दोस्रो पटक नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले कुमारी सहितको रथ तानेर नेपाली समुदायलाई नेपाल कै झझल्को गराई दिएको छ । नेपाली समुदाय इन्द्र जात्रा मनाउन र रथ तान्न अमेरिकाका विभिन्न राज्यहरूबाट पनि आएका थिए ।

डिसी महानगर क्षेत्रमा १८ वर्ष अगाडी नेवा समुदाय द्वारा भाषा ,संस्कृति तथा कलालाई जगेर्ना तथा प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए ) ले नवौँ इन्द्र जात्रा केही नयाँ प्रस्तुति गर्दै भव्यताको साथ सम्पन्न गर्न सफल भएको छ ।

कार्यक्रममा अतिथिको रूपमा पूर्व भौतिक योजना मन्त्री र हालका प्रतिनिधि सभा सदस्य तथा समाजवादी पार्टीका सह अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए । श्रेष्ठले नेवा समुदायले विदेशमा पनि भाषा, संस्कृति र कला को जगेर्ना गर्न नेवा समुदायको ठुलो भूमिका रहेको बताए । र संस्थाले गरेको कामको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

यसै गरी मेरिल्यान्ड मन्टगोमेरी काउन्टीका नगर परिषद् प्रतिनिधिले एनओएले नेपाली समुदायमा खेलेको भूमिका को सराहना गर्दै काउन्टीको तर्फबाट सम्मान पत्र हस्तान्तरण गरेका थिए । उक्त सम्मान पत्र कार्यवाहक अध्यक्ष यज्ञमान शाक्यले लिएका थिए । साथै शाक्यले सबैलाई स्वागत गर्दै प्रस्तुत गरिएको नाटक तथा अन्य प्रस्तुतिमा सहभागी रहेका थिए ।

यस पटक पनि कुमारीलाई प्रस्तुत गर्दै नरसिंह अवतारले हिरण्यकशिपु बध गरिएको नाटक प्रस्तुत गरिएको थियो । हिन्दु धर्मका अनुसार नृसिँह “नरसिंह” अवतार भगवान् विष्णु चौथो अवतार हो। दैत्यराज हिरण्यकशेपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त विष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।

हिन्दु धर्म ग्रन्थका अनुसार कश्यप ऋषिको पत्नी दितीको गर्भबाट दुइटा बालक हिरण्याक्ष र हिरण्यकशेपु पैदा भएका थिए यिनीहरू ठुले भए पछि जता ततै उप्रदव मच्चाउन थाले। हिरण्याक्षलाई बराह भगवानले मारेका थिए । इन्द्र जात्रामा दुर्गा लाल श्रेष्ठको पुस्तक कुमारीले विमोचन गरेकी थिइन् ।

उक्त कार्यक्रममा नेवा समुदायको परम्परागत भोज समय बजी सम्पूर्ण सहभागी अतिथिहरूलाई निःशुल्क खुवाइएको थियो । उक्त कार्यक्रममा लाखे नाच तथा पुलु किसी (सेतो हात्ती )को नृत्य को साथै परम्परागत स्थानीय रूपमा सजिएकी कुमारी पनि प्रस्तुत गरिएको थियो l यस पटक आर्थिक सहयोग गर्ने आयोजक तथा दानवीरको नाम रथमा ताम्रपत्रमा कुदी नाम टासिएको थियो ।

प्रतिक्रिया