अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

वायुसेवा सञ्चालक संघले भन्यो – जहाजभित्रै मन्त्रीमाथि अभद्र व्यवहार दूर्भाग्यपूर्ण र अक्षम्य अपराध

बिआरटीनेपाल २०७६ भदौ २९ गते १०:१८ मा प्रकाशित

वायसेवा सञ्चालकहरुको संस्था नेपाल वायुसेवा सञ्चालक संघले शनिबार नेपालगञ्जमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि बिमानमै भएको घटनाप्रति खेद प्रकट गरेको छ । शनिबार काठमाडौं आउने बुद्ध एयरको उडानका क्रममा उडान ढिला गराएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री विरुद्ध अभद्र व्यवहार भएको थियो । सो घटना दूर्भाग्यपूर्ण भएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।

‘मन्त्रीज्यूको दिनभरीको व्यस्थ कार्यक्रमको कारण केही समय ढिला भयो, त्यही आधारमा उहाँप्रति जुन व्यवहार भयो, यो सेफ्टीका हिसाबले पनि राम्रो भएन,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जहाजभित्र सु–व्यवस्था र अनुशासन राख्नु, उडान सुरक्षा र हवाई सुरक्षाका लागि अपरिहार्य हो । यसमा यात्रुहरुले पनि ध्यान दिनुपर्छ ।’

हवाई सेवा घरेलू कानूनमात्र नभएर अन्तराष्ट्रिय कानून तथा अभ्यासका आधारमा पनि चल्ने भएकाले यसमा सबै गम्भीर हुनुपर्ने संघले प्रष्ट पारेको छ । जहाजभित्र कुनै पनि हुलहुज्जत र कसैप्रतिको पनि अभद्र व्यवहार क्षम्य नहुने भएकाले त्यसमा कानूनी उपचारको व्यवस्था रहेको भन्दै संघले सबैलाई सचेत गराएको छ ।

शनिवार काठमाडौं आउने क्रममा ज्ञानेन्द्र शाहीलगायतका केही अराजक ब्यक्तिले मन्त्री भट्टराईमाथि आपत्तिजनक शब्द प्रयोग गर्दै दुर्ब्यवहार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू