अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

डिसीमा विपी जयन्ती कार्यक्रम भव्यताको साथ सम्पन्न, प्रमुख अतिथि डा मिनेन्द्र रिजाल

विजय थापा २०७६ भदौ २९ गते ९:५१ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजनामा स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको १०६औं जन्म जयन्ती कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका संस्थापक,नेपालका प्रथम जन-निर्वाचित प्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार स्व.विपीको सम्मानमा एक मिनेट मौनधारण् गर्दै सुरु भएको उक्त कार्यक्रमका विशेष अतिथि र सहभागीहरू द्वारा नेता कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको थियो ।

उक्त अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवम् सांसद डा मिनेन्द्र रिजालले नेपाली काँग्रेसको स्थापना र २००७ सालको क्रान्तिमा स्वर्गीय नेताबाट भएको नेतृत्वको चर्चा गर्दै भन्नु भयो विपी कोइराला युग नायक हुनुहुन्थ्यो ।

उहाँले भन्नु भयो राजाको अधिनायकवादी सोच र नेपालको समुन्नति नचाहने तत्त्वहरूको मिलेमतो बाट गरिएको प्रजातन्त्रको हत्या र निरङ्कुशतन्त्र स्थापना पस्चातको निर्वासित अवस्थामा भारतीय उपमहाद्वीपमा तत्काल घटेका राजनीतिक घटनाहरूको सूक्ष्म विश्लेषण गर्दै राष्ट्र सङ्कटमा छ । राष्ट्रियता पनि गुम्न सक्छ भन्ने बुझेर आफूलाई फाँसी नै हुन्छ भने पनि होस् तर राष्ट्रलाई जोगाउनु पर्छ भन्दै विपी २०३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो ।

सोही अवसरमा नेपाली काङ्ग्रेसकी नेता एवम् सांसद सरिता प्रसाईले पनि स्वर्गीय नेता प्रति श्रद्धाञ्जली ब्यक्तगर्दै नेपाल र नेपाली जनताले युग युग सम्म विपी कोइरालालाई सम्झी रहनेछन् भन्नु हुँदै जब जब देशले सङ्कट बेहोर्नु पर्ने अवस्था आउँछ तब विपीका अनुयायी नेपाली काँग्रेसका कार्यकर्ताहरू ज्यानको पर्बाह नगरी राष्ट्र राष्ट्रियता र प्रजातन्त्रका लागि आन्दोलनमा होमिएका हुन्छन् भन्नुभयो ।

उहाँले भन्नु भयो विश्व राजनीतिको मञ्चमा नेपाललाई चिनाउने एक मात्र नेता जननायक विपी कोइराला नै हो ।

सो अवसरमा वरिष्ठ साहित्यकार हरि अधिकारीले साहित्यकार विपी कोइराला का साहित्यिक कृतिहरूको चर्चा गर्दै उहाँको साहित्यिक व्यक्तित्वका बारेमा प्रकाश पार्नु भएको थियो । थुप्रै कथा,उपन्यास र केही कविता पनि सिर्जना गर्नुभएका साहित्यकार कोइराला बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो भन्दै नेपाली साहित्यमा विपी कोइरालाको विशिष्ट स्थान रहेको बताउनु भयो ।

कार्यक्रममा साहित्यकारहरू प्रकाश नेपाल,मोहन निरौला,विमला निरौला,भरत रेग्मी,किरण सिंह थापा आदिले कविता बाचन् गर्दै साहित्यकार कोइराला प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।

विपी कोइराला १०६औं जन्मजयन्तिको उक्त विशेष कार्यक्रममा नेपाली काँग्रेस झापाका नेता हरि कुमार सिवाकोटी,जनसम्पर्क समिति अमेरिकाका उपसभापति केशव बराल,केन्द्रीय सदस्य गोपाल विश्वकर्मा,जनसम्पर्क समिति मेरिल्यान्डका सभापति राजेन्द्र सेन्चुरी,नेका नेत्री उमा शाह, एनआरएन यूयसएका सल्लाहकार गोविन्द सुबेदी,नेपाली जनसम्पर्क समितिका नेता अर्जुन सिग्देल,एएनयस का निवर्तमान महासचिव प्रेम पौडेल,अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष केदार प्रसाद तिम्सिना लगायतका समुदायका व्यक्तिहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

उहाँहरूले नेपालमा राष्ट्रियता र प्रजातन्त्रको संरक्षण तथा संवर्धन का निम्ति स्वर्गीय नेता विपी कोइरालाका देनहरूको चर्चा गर्नु हुँदै उहाँद्वारा परिकल्पना गरिएको आर्थिक सामाजिक विकासका अवधारणा र नीति योजनाहरू आज पनि नेपालको विकास र नेपाली नागरिकको जनजीविका का निम्ति सान्दर्भिक रहेको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

च्याप्टर सदस्य याम कुमार सिटौला ले सञ्चालन गर्नु भएको स्वर्गीय विपी कोइरालाको १०६औं जन्म जयन्ती सम्बन्धी उक्त विशेष कार्यक्रम नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टर सभापति राम शरण हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया