अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

संघीय संसदका दुवै सदनमा कांग्रेसको अवरोध, बैठक स्थगित

बिआरटीनेपाल २०७६ भदौ २९ गते ९:४२ मा प्रकाशित

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका आईतवारका कारबाही अवरुद्ध भएका छन्। आइतबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले विरोध गरेपछि दुवै सदनका बैठकका कारबाही अवरुद्ध भएका हुन्।

कांग्रेसले बाँके पार्टी सभापति किरण कोइरालालाई सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कुटपिट गरेर हात भाँचेको भन्दै संघीय संसदका दुवै सदनका बैठक अवरुद्ध गरेको हो। कांग्रेसले बाँके घटनाका वास्तविक अभियुक्तलाई कारबाही गर्नुपर्ने माग गरेको छ । बाँके घटनामा संलग्न भनी पीडीतले किटानी जाहेरी दर्ता गर्न जाँदा स्थानीय प्रशासनले अस्वीकार गरेको उसले आरोप लगाएको छ।

बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाए पनि कांग्रेसका सांसदहरूले किटानी जाहेरीको निवेदन दर्ता गर्न माग गर्दै बैठक अवरोध गरेका थिए। राष्ट्रियसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्दप्रसाद पाण्डेले योजनाबद्ध रूपमा बाँके घटना गराइएको तथा किटानी जाहेरी दर्ता गर्न पनि अस्वीकार गरिएको भन्दै तत्काल जाहेरी दर्ता गराउन माग गर्नुभयो । उहाँले यस्ता घटना र घटनाप्रति सरकारले देखाएको कार्यशैली दोहोरिँदै जादा राजनीतिक दलहरू राज्य आंतकको शिकार बन्दै जानुपर्ने अवस्था सिर्जना हुने भन्दै वास्तविक दोषीलाई कारबाहीको प्रतिबद्धता नआएसम्म सदन चल्न नसक्ने बताउनुभएको थियो ।

प्रतिनिधीसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले घटनाका दोषीलाई सरकारले कारबाही गर्न नचाहेको र प्रहरीले किटानी जाहेरीसमेत नलिएको भन्दै तत्काल कारबाहीका लागि माग गर्नुभएको थियो । कांग्रेस सचेतक पुष्पा भुषालले कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेका पार्टी सभापतिमाथि आक्रमण भएको विषयलाई गृहमन्त्रीले सामान्य भनेकोमा आपत्ति जनाउनुभयो ।

दुवै सदनका दोस्रो बैठकमा कांग्रेस सांसदले अवरोध गरेपछि दुवै सदन भोलिसम्मका लागि स्थगित भएका छन्। प्रतिनिधिसभाको बैठक भोलि सोमबार ३ बजेसम्मका लागि स्थगित गरिएको छ। राष्ट्रियसभाको बैठक भने भोलि ११ बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू