अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

इलाम साहित्य सम्मेलन र माइपोखरी दर्शन

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७६ भदौ २९ गते ९:३१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन इलामद्वारा २०६८ फागुन १४–१६ मा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा प्रस्तुत गर्ने कार्यपत्र लेखनका लागि मलाई निकै पहिले नै जिम्मेवारी दिइएको थियो । उता र यता दुवैतिरको विशेष आग्रहलाई स्वीकार गरी मैले निर्धारित समयभित्रै ‘समकालीन नेपाली साहित्यका प्रवृत्ति’ शीर्षक कार्यपत्र तयार गरिसकेको थिए । निर्धारित समयमा नै हाम्रो इलाम यात्रा तय भयो । बस चढेर थानकोट नकाटेको दशकौँ बितिसकेकाले मैले बसमै जाने निधो गरे । १३ गते दिउसो दुई बजेतिर हाम्रो यात्रा प्रारम्भ भयो । त्यस बसले यति धेरै साहित्यकार एकमुष्ट बोक्ने अवसर अहिलेसम्म पक्कै पाएको थिएन । बसमा ब्यानर टाँगिएकाले पुलिसले पनि खासै दुख दिएन ।

काठमाड्यौली साहित्यकार बोकेर हिँडेको बस थानकोट काटेर विभिन्न घुम्ती र मोड पार गर्दै अगि बढ्यो । कुरिनटारमा बासले बारेको एउटा होटेलमा खाजा खाने बन्दोबस्त गरिएको रहेछ । पहिले पहिले बासले बारेको ठाउँमा भेडा बाख्रा हुलिन्थ्यो भने यतिखेर त्यस्ताले कटेज रिसोर्ट नाम धारण गरेर मनुष्य नाम गरेको प्राणी हुल्न थालेका छन् । यतिखेर हाम्रा अनेक दलदले बैठक रिसोर्टमै हुने गरेकाले पनि यिनको भाउ बढेको छ । त्यहाँ एउटा सिङ्गै मोमो र अरू खत्रयाक खुत्रुक खाइयो । भोकाएका हाम्रा साहित्यकारहरूले त्यहाँको खाजा देख्दा थप बोल्नु आवश्यक ठानेनन् । भएमध्येकी लुइरी गीता कार्कीलाई त त्यो खाजा प्रसाद तुल्य भयो भने अरूको त के कुरा भो र ? हामी सबैले अहिलेसम्म नखाएको एउटा सिङ्गै मोमो खाएर नयाँ रेकर्ड बनायौ । त्यो मेरा लागि पनि पहिलो नौलो अनुभव थियो । पेट भर्नु त के थियो र अनुभव लिनु सिवाय । त्यहाँको बिलले भने सबैको कन्सिरी तताए पनि सब मौन थिए । बाटामा मोमो पुराण वाचन गर्दै हाम्रो टोली नारायणघाट पुग्यो । त्यहाँ होमनाथ सुवेदी जोडीलाई टिपेर यात्रा अगि बढ्यो । हेटौडा पुगेर थकाली होटेलमा खाना खाएपछि मात्र सबैका अनुहार उज्यालिए । जयदेव भट्टराईसमेत मुसुक्क हासे ।

कुरिनटारको रिसोर्टले हेटौडाको भोजनालयलाई अलि घाटा नै पुर्‍याइदियो । त्यहाँबाट अगि बढेपछि भने हाम्रा यात्रुका गीत र कविता फुर्न थाले । बसै उचाल्ने गरी गीत र कविता फुराउदै हाम्रो यात्रा एक सुरमा अगि बढिरह्यो । ‘इलामे सहर चियाबारी राम्रो त्यही पर्‍यो घर हाम्रो …’ भन्ने गीतको त चीरहरण नै भयो । भुइमा उज्यालो खुत्रुक्क खस्दा हामी झापा चार आली टुप्लुक्क पुग्यौ । त्यहाँ केही खादा फ्याँक्नेका चिन्ताले हामीले सरासर इलामकै बाटो तताउने निर्णय गर्‍यौ । इलामनजिकै माई खोलाको पुल तर्ने बित्तिकै गाडीका चक्काको हावा फुस्कियो र हामी सबै ओर्लियौ“ । कोही खोलातिर र कोही घारीतिर लागेर ध्यान गर्न थाले । म र होमनाथ सुवेदी डायस्पोराका नाममा नेपाली साहित्यमा भित्रिएका विसङ्गतिबारे चर्चा गर्न थाल्यौ । अरू निकै जनाले कुरा सुन्नमा सहभागिता जनाए ।

चानचुन नौ बजेतिर हामी इलाम बसपार्क उत्रियौ । बस्ने बन्दोबस्त विभिन्न होटेलमा मिलाइएको रहेछ । बसपार्ककै मुखको गजुरमुखी होटेलमा तारानाथ शर्मा, रामबाबु सुवेदी, विजय ध्वज थापा, रामप्रसाद पन्त र मलाई बस्ने बन्दोबस्त मिलाइएको रहेछ । हामी चुच्चो पखाल पुखुल गरेर खाना खाई निर्माणाधीन गौतम बुद्ध सभा हलमा आयोजित कार्यक्रम स्थल तर्फ लाग्यौ । मान्छेको उपस्थिति बाक्लै थियो । साहित्यिक सम्मेलन भएकाले वरपरका साहित्यकार र साहित्यानुरागी आउने नै भए । भारतको दार्जिलिङ, सिलिगुडी, कलकत्ताका साथै अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न ठाउँबाट साहित्यकारहरू आएका थिए । प्रमुख अतिथिका रूपमा सभामुख सुवास नेम्वाङ भएकाले उनका धुपौरेगणको पनि उपस्थिति हुने नै भयो ।

उनी पुगेपछि जिल्ले हाकिम र सुरक्षाकर्मीको त ताती लाग्ने नै भयो । बाक्लै भिडभाडका बिचमा कार्यक्रमको उद्घाटन भयो । विभिन्नले आआफ्नै ढर्राका भाषण छाँटे । सुवास नेम्बाङ पनि मान्छे हेरेर भाषण गर्न सिपालुमै गनिएका मान्छे । उनले साहित्यकै विषयमा भाषण ठोके । हुन त नेतालाई भाषण ठोक्न विषयवस्तुको ज्ञान हुन आवश्यक पनि छैन । उनी चिप्लो बोल्ने तर माखो नमार्ने नेताका रूपमा त्यस क्षेत्रमा पहिचान बनाएका व्यक्ति भएको कुरा धेरै जनाबाट पछि थाहा भयो । ठुला कहलिएकाहरू आफ्ना पाँडे गन्थन सक्दै व्यस्त छु भन्दै दनादन निस्कन थाले । त्यो त हाम्रा ठुलाको बानी नै हो । हामी त त्यहाँ बस्न बाध्य नै थियौ । उद्घाटनको औपचारिकता सकिएपछि कार्यपत्र प्रस्तुतिको पालो आयो । युद्धप्रसाद वैद्यले इलामको साहित्यिक गतिविधि बारेमा कार्यपत्र प्रस्तुत गरे ।

सूर्यास्त हुनै लागिसकेको थियो । मान्छे धेरै पातलिइसकेका थिए । हामी पनि थकित थियौ । प्रायोजित रूपमा तय गरिएको एउटा प्रचारमुखी कार्यक्रम आत्म पुराण हामीलाई साक्षी राखेर सुरु गरियो । वसन्त बस्नेतले किशोर नेपालसँग साठी मिनेट भन्ने कार्यक्रम सुरु गरे । आफूलाई पत्रकारको डन सम्झने किशोर नेपालले त्यहाँ चरम अहम्वादी र आत्म प्रशंसा केन्द्री कुरा गरे । महिलाहरूलाई निकै होच्याए । समालोचक माथि विष बमन गरे । उनको अभिव्यक्ति प्रति महिलाहरूले त आपत्ति नै प्रकट गरे । उनी खाटी साहित्यकार नभएर बनाइएका साहित्यकार भएकाले उनीबाट गतिला कुराको अपेक्षा गर्नु निरर्थक थियो । हामी चुपचाप बसिरहेऊ । उनी मच्ची मच्ची फत्फताउन थाले । त्यहाँ उनको कुरा कसैले पनि नरुचाए पनि सुन्नचाहिँ बाध्य थिए । उनी त्यहाँ आत्म पुराण वाचन गर्न मात्र गएका रहेछन्, उनलाई अरूका कुरा सुन्नु रहेनछ । त्यो कार्यक्रम सकिने बित्तिकै किशोर र वसन्त दुवै ओरालिए । पछि सबतिर उपस्थित भएजस्तो गरी समाचार आयो । किशोर नेपालले कार्यपत्र प्रस्तुत गरेको भन्ने लेख्न पनि बाँकी राखेनन् । यो हाम्रा पत्रकारको अलपत्रकारिताको उत्तम नमुना थियो । कार्यक्रम सकिएपछि हामी होटेल पुगेर खाना खाई बेलैमा सुत्यौ ।

अर्काे दिन बिहानै माइपोखरी दर्शन गर्न जाने उर्दी भयो । दुईटा गाडी लिएर त्यहाबाट हाम्रो गाडी उकालियो । तारानाथ शर्मा, रामबाबु सुवेदी, रामप्रसाद पन्त आदि हामी एउटा गाडीमा थियौ । बाटामा पर्ने गुरुकुलमा पुर्याइयो । त्यहाका विद्यार्थी शिक्षकहरूले स्वस्तिवाचन गरेर पुष्पगुच्छा सहित हामीलाई भव्य स्वागत गरे । त्यहाबाट हामी उकालियौ । टुपीमा ज्यान राखेर हिड्नुपर्ने बाटो रहेछ । प्रधानमन्त्री, सभामुख तथा काङ्ग्रेसी महामन्त्रीसमेतका जिल्लाको उत्तम नमुना त्यही बाटोले दिइरहेको थियो । धन्न माइपोखरीले रक्षा गरिदिएकाले ठूलै विपत्ति निम्त्याएको रहेनछ । तारानाथ शर्माको बरबोटेको वरको रूख खोज्दै अगि बढियो । त्यहा वरका रूख धेरै नदेखिएकाले बाटामै भएको एउटा तारानाथकै हाराहारीका उमेरको रूखलाई नै वरको रूख नै वरबोटे भएको मैले बताए । सबैले हो मा हो मिलाए । तारानाथ भने दोधारमै रहे । जे होस् बरबोटेको कुरा गर्दै हामी माइपोखरी पुग्यौ । त्यहाको प्राकृतिक सौन्दर्य अवर्णनीय ।

एकातिर प्राकृतिक सौन्दर्य र अर्कातिर सांस्कृतिक सौन्दर्य । दुवै दृष्टिले त्यहाको महिमा अपरम्पार… । माइपोखरीमा नौवटा कुना रहेछन् । तिनलाई नवदुर्गा भन्ने प्रचलन रहेछ । हुन त उहिले राजनीति गर्दा झोला बोकेर त्यो बाटो हिडिएकै हो तर त्यतिखेर त्यस्ता कुना हेर्न मिल्दैनथ्यो, झन् कामरेडले देख्ने गरी त दर्शन गर्नै नमिल्ने । हामीले राष्ट्रमा शान्तिको कामना गर्दै माइपोखरीको परिक्रमा गर्यौ र त्यहाको सौन्दर्यलाई क्यामराभित्र हुल्यौ । अरू देशमा भएको भए त्यतिले इलामलाई मात्र होइन धेरै ठाउंलाई पाल्थ्यो तर हामीकहा पर्यटन वर्ष मनाउनेबाहेक पर्यटन विकास गर्ने योजना भए पो ।

माइपोखरीको दर्शन र आचमन गरी हामी ओरालियौ । अर्को गाडी फर्किसकेको थियो । कुरा फेरि उही बरबोटेकै आयो । तारानाथको जन्मघर त्यतैतिर भएको भन्ने बुझेपछि उनी गाडीबाट ओर्लेर एउटा घरको आगनमा पुगी त्यहाको माटो जिउमा दल्न थाले । तारानाथ शर्माका हरेक लेखनमा जन्मभूमि प्रेम अभिव्यञ्जित छ नै । उता मूल कार्यक्रम ढिलिदै थियो भने यता तारानाथ जिउमा माटो दल्दै थिए । अलिक कृत्रिमता झल्कने खालको उनको जन्मभूमि प्रेमलाई त्यहा धेरैले नरुचाए पनि खासै प्रतिक्रिया व्यक्त गरेनन् मात्र छिटो गरौ भनिरहे । हामी होटेलमा आएर हतारहतार गास टिपी कार्यक्रम स्थलमा पुग्यौ । पहिलो कार्यक्रम मेरो कार्यपत्र प्रस्तुति भए पनि तारानाथको माटो दलाइले त्यहा आइपुग्न केही ढिला भएकाले कार्यक्रमलाई कविता वाचनतर्फ मोडेर राधेश्याम लेकालीले समयको राम्रै सदुपयोग गरेछन् । कार्यपत्र प्रस्तोता र टिप्पणीकार दुवै त्यहा नभएपछि कवितावाचन नै सर्वाेत्तम विकल्प थियो ।

कार्यक्रमको मूल आकर्षण नै मेरो कार्यपत्र भनी प्रचार गरिएको थियो । उपस्थिति पनि भव्य नै मान्नुपर्छ । हामी त्यहा पुग्नेबित्तिकै मञ्चासीन गराएर कार्यपत्रको प्रस्तुति सुरु गरियो । मैले एक घन्टाभन्दा बढी समय कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रले समेटेको विषयवस्तु निकै व्यापक भएकाले र त्यहा लेखिएका कुरा पढ्दा धेरै समय लाग्ने भएकाले मैले मौखिक रूपमै कार्यपत्र प्रस्तुत गरे । सबैले मन्त्रमुग्ध भएर सुनिरहे । म भट्ट्याइरहे । कार्यपत्र सकिनेबित्तिकै टिप्पणीको पालो आयो । टिप्पणीकारका रूपमा राजेन्द्र सुवेदी र तारानाथ शर्मा रहेछन् । राजेन्द्र सुवेदीले ‘उहा इनर्जेटिक भएकाले यति विस्तृत र गहन कार्यपत्र लेख्नु भएको हो अरू जो कोहीले यस्तो गर्न सक्दैन थिए, गहन अध्ययन गरी तयार गरिएको यो कार्यपत्र सूचनामूलक र ज्ञानबर्धक भएको…’ भनी प्रशंसामूलक टिप्पणी गरे । उनी र व्रतराज आचार्य भानुभक्तको पुरेत्याइ गर्न विभिन्न तिर जानुपर्ने भन्दै टिप्पणी सक्नासाथ त्यहाबाट हिडिहाले । गङ्गा उप्रेती पहिले नै हान्निइसकेका थिए । राजेन्द्र सुवेदीपछि टिप्पणी गर्ने पालो तारानाथको आयो । उनले अतीतका आफ्ना अनेक संस्मरण सुनाउदै पत्रकारले साहित्यलाई महत्व नदिएकोमा आक्रोश पोखे तर कार्यपत्रको भने मुक्तकण्ठले प्रशंसा गरे । काठमाडौमा महत्व नदिए पनि त्यहा चाहि पत्रिकाले साहित्यलाई विशेष महत्व दिएर छापेको देखियो ।

फ्लोरबाट पुष्कर लोहनीले आफु नेपालीमा यौन विषयमा २०१६ सालदेखि निरन्तर लेख्ने व्यक्ति भएको त्रिभुवन विश्वविद्यालयलाई वासुदेव त्रिपाठी, ठाकुर पराजुली र बालकृष्ण पोखरेलले बिगारेको, ताना शर्माले सचिवकी सालीसँग प्रेम गरेकाले पक्राउ परेको आदि भन्दै आफ्नो कौडी छुटेकोमा चित्त दुखाए । तैपनि कार्यपत्रको भने प्रशंसा नै गरे । मणिराजसिंहले कार्यपत्र धेरै राम्रो, चित्तबुझ्दो र ज्ञानमूलक भएको भन्दै डायस्पोराको बारेमा प्रश्न गरे । आफैले भूमिका लेखेकालाई महान् कृति भन्ने अनि त्रिविबाट शोध गराउने ठेकेदारी प्रवृत्ति रहेको भन्दै आक्रोश पोखे । यस्तै गरी लता निरौला, रामजी, ज्ञानेन्द्र खतिवडा लगायतले कार्यपत्रको प्रशंसा गर्दै विभिन्न जिज्ञासा राखे । मैले समकालीन साहित्यमा केन्द्रित कार्यपत्रमा पुराना साहित्यकारको नाम नपरेको भनी बम्किने परिपाटी गलत हो भन्दै कार्यपत्रसँग सम्बद्ध जिज्ञासाहरूको उत्तर दिइसकेपछि केशबहादुर राईजस्ता आफ्ना पुराना विद्यार्थीले राम्रै प्रगति गरेको देख्दा खुसी भएको कुरा व्यक्त गरे ।

यसपछि कविता वाचनको कार्यक्रम सुरु भयो । यताबाट गएका, उतैका र विभिन्नतिरबाट आएका थुप्रै कविले आआफ्नो गच्छेअनुसारका कविता वाचन गरे । केहीले अश्लील कवितासमेत वाचन गरेकाले हलबाट मानिसहरू बाहिरिने क्रम सुरु भयो । केन्द्रमा वैद्य र डाक्टरको बोलाबोल भएझै त्यहां पनि वैद्य र झाक्री गरी दुई थरी भएको सुनियो तर त्यहा त्यस्तो अनुभूति भने भएन । त्यसै दिन छ बुदे इलाम घोषणापत्र पनि जारी गरियो । साँझपख कार्यक्रम सकिएपछि हामी आआफ्नो बासस्थान तर्फ लाग्यौ ।

अर्को दिन बिहान इलाम वरिपरिको साइटसिन गरियो । इलामको सुन्दर चियाबगानकै छेउमा साहित्यकार विष्णु नवीनको घुम्टो खोल्न बाकी सालिकलाई घुम्टो ओडाएर राखिएको रहेछ । सम्मेलनको निम्तापत्रमा भाषाशास्त्री महानन्द सापकोटा र विष्णु नवीनको प्रतिमा अनावरणको समेत कार्यक्रमको उल्लेख गरिए पनि त्यो कार्यक्रम यस पटकका लागि थाती राखियो, थाती राख्नाको कारणचाहि बुझिएन । वरिपरिको सुन्दर प्राकृतिक दृश्यको निकै बेर अवलोकन गरिसकेपछि खाजा खाएर करफोकतर्फ प्रस्थान गरियो । त्यतापटिको व्यवस्थापनमा युद्धप्रसाद वैद्य र विमल वैद्यको सक्रियता देखिन्थ्यो । यतापटिको सम्पूर्ण व्यवस्थापनको संयोजन कार्यक्रमका संयोजक राधेश्याम लेकालीले गरेका थिए । उनलाई कतिपयले केके भनेको सुनिए पनि उनको संयोजनकारी भूमिका प्रशंसनीय थियो । त्यहाबाट निस्कने बेलामा पुष्कर लोहनीको भारीले चाहि निकैलाई सतायो । उनले जाडो हुन्छ भनेर सिङ्गो घरगृहस्थी नै बोकेर हिडेका रहेछन् । इलाम पुगेपछि घरबार नजोडी कोही पनि फर्कदैन भन्ने भनाइ पनि प्रचलित रहेछ । आफु त पहिले नै घरबार जोडिसकेको पुरानो मान्छे त्यतातिर ध्यान दिइएन ।

हामी गीत गाउदै र ठट्टा गर्दै करफोक पुग्यौ । लाप्चा भाषामा करफोकको अर्थ ढुकुर हुदोरहेछ । त्यहाका सानासाना डाडाहरु ढुकुर बसेझै देखिने हुदा त्यस ठाउको नाम करफोक राखिएको अनुमान गरिदो रहेछ । २००९ सालमा पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन र त्यसपछि अनेक सम्मेलन भएको ऐतिहासिक ठाउ करफोक । पहिलो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा देवकोटा, सम र लेखनाथ लगायतका विशिष्ट साहित्यकारको उपस्थितिको स्मरण अहिले पनि त्यहा हुदोरहेछ । कार्यक्रमको शुभारम्भ इलाम बजारमा र समापन कर्फाेकमा गर्ने योजनामुताबिक नै कार्यक्रम सञ्चालित थियो । प्राकृतिक दृष्टिले सारै सुन्दर इलाम साहित्यिक दृष्टिले पनि चर्चायोग्य ठाउ भएको सबैलाई थाहै छ । कर्फाेक उच्च माविको प्रवेशद्वारदेखि दुईतिर पङ्क्तिबद्ध भएर भव्य स्वागत गर्दै हामीलाई कार्यक्रमस्थल पुर्याइयो । त्यहा स्वागतमा दिइएका पुष्पगुच्छाले लगभग मुख छोप्ने अवस्था भएको थियो । हामीले सर्वप्रथम त्यहा श्री १०८ स्वामी सोमेश्वरानन्द तथा सरस्वतीको सालिक परिक्रमा गरी हामीलाई प्रदान गरिएका पुष्पगुच्छा भक्तिपूर्वक उनीहरूलाई चढायौ । भारतको गढवालबाट आई त्यही आजीवन बसोबास गरेका स्वामीजीले त्यस क्षेत्रमा शिक्षाको विकास गर्न महत्वपूर्ण योगदान दिएको भन्दै त्यस क्षेत्रमा उनको नाम निकै सम्मानपूर्वक लिइदो रहेछ ।

दिउसो इलामको ओलनसित भात खाइयो । त्यहा मलाई नामबाट चिनेका तर प्रत्यक्ष नदेखेका थुप्रै विद्यार्थी भाइबहिनीसंग पनि चिनजान गरियो, फोटो खिचियो । त्यहा पुरानो एकजना पुराना अल्पकालीन सहपाठी र केही विद्यार्थी पनि भेटिए । विद्यार्थी भेटिएपछि म त फुरुक्क । आफ्नो त सम्पत्ति भनेकै विद्यार्थी नै हुन् ।

सुभास राईले अतिथिगणलाई मञ्चासीन गराउदै कार्यक्रम सुरु गरे । तामाङ जातीय लोकनृत्यबाट हाम्रो भव्य स्वागत गरिएको थियो । त्यहा अनेक कविता वाचन गरिए । मैले समग्र कविताको मूल्याङ्कन गर्दै एउटा कविता वाचन गरे । त्यहा पनि भाषण भुषण र कविता वाचनकै कार्यक्रम बढी थियो । त्यहा एकैछिनमा घाम चर्किने र पानी झर्लाजस्तो हुंदोरहेछ । यसप्रकारको मौसम मौसम उलटपलट हुदाको अनुभूति यसपूर्व गरिएको थिएन । परिवर्तनशील मौसमी जाडोले पनि हामीलाई निकै सतायो भनौ कि भव्य स्वागत गर्यो भनौ । जे भए पनि गर्नचाहि गर्यो नै । साँझपख कार्यक्रम सकियो । तारानाथ उनकै भाइका घरतिर, रामबाबु, विजयध्वज थापा र म दीपक अधिकारीको घरतिर अनि बाँकी साथीहरू काठमाडौतिर लागे ।

हाम्रो बसोबासको बन्दोबस्त आइतबारे निवासी स्थानीय काङ्ग्रेसी नेता दीपक अधिकारीको घरमा गरिएको रहेछ । उनी हामीलाई लिएर हिडे । त्यहा हाम्रा झोला सइ विक्रम दाहाल र अन्य प्रहरीले बोकिदिए । ‘नेताको झोला बोक्नु भन्दा त विद्वानको झोला बोक्न पाउनु धेरै राम्रो’ भन्दै हामीलाई लिएर सोझै दीपक अधिकारीको घरमा पुगे । उनको त्यो कुरो सुन्दा आफुले नेतागिरी छोडेकोमा खुसी लाग्यो एकातिर भने अर्कातिर हाम्रा नेताहरुको दुर्दशा देख्दा पीडाबोध भयो । इलाममा ‘अदुवा, अम्लिसो, अलैंची, अकबरे र ओलन’ प्रसिद्ध पाँच ‘अ’ भए पनि अहिले रुख मासिएकाले अलैची घटेको र नया ‘अ’ आत्महत्या बढेको सइ दाहालले बताए । त्यहाको परिवर्तित मौसमी प्रभावका कारण मानिसले आत्महत्या गर्ने गरेको बडा रोचक कुरा तिनले सुनाए । स्नातक गरेका दाहाल निकै तार्किक र रमाइला मान्छे रहेछन् । इलाम बढी आत्महत्या गर्ने जिल्लामा पर्ने र यसको कारण नै मौसम रहेको प्रहरी अनुसन्धानको निष्कर्ष रहेछ ।

त्यस विषयमा हामीलाई तर्कवितर्क गर्नु थिएन । काला काङ्ग्रेसको कोटीमा नपर्ने दीपक अधिकारी पनि पढेलेखेका तर्कशील व्यक्ति रहेछन् । बेलुका निकै बेर नेपालको राजनीतिक विषयमा चर्चापरिचर्चा गरियो । राजनीतिक बहसले मौसम पनि ततायो । रामबाबु निकै कम र विजय निकै बोल्दा रहेछन् । ठूला मान्छेसँग हिंड्दा बोल्न नपाइने रहेछ भन्ने विजयको गुनासो थियो । मैले वर्तमान राजनीतिका विषयमा लामै कुराकानी गरिसकेपछि रामबाबुले ‘तपाईंले राजनीति गर्दिन भन्दाभन्दै पनि थुप्रै राजनीति गर्नुभयो, तपाईंलाई त मैले ज्ञानको इन्साइक्लोपेडिया नै माने…’ भन्दै फुक्र्याए । म पनि त्यत्तिकै कहा फुर्किन्थे र ।

घरायसी वातावरणमा बडा मिठो भोजन गरियो । इलामको सिलाम भनेको यही हो भन्दै अचार थपिदिए । हामी यताबाट जादा ‘इलामको सिलाम फाकफुके तोरी तेल आउछ तुरुरु…’ भन्ने गीत गाउदै त के भन्नु बोल्दै गएको सम्झदै सिलामको अचार र घिउ थपीथपी खाइयो । तारानाथको आत्मप्रशंसा र बाउबाजेको बखान गर्ने बानी त्यहा धेरैले नरुचाएको बुझिए पनि हामीलाई त्यसमाथि कुनै प्रतिक्रिया व्यक्त गर्नु थिएन ।

भोलिपल्ट बिहानै सइ विक्रमलगायतका प्रहरी भाइहरू त्यहा आइपुगे । हामीलाई भद्रपुर एयरपोर्ट पुर्याउने गाडी पनि आइपुग्यो । बाटामा तारानाथलाई टिपेर हामी हिड्यौ । गाँस छोड्नु साथ नछोड्नु भन्ने भनाइ इलाममा मिल्ने रहेनछ भन्दा तारानाथ चुपचाप सुनिरहे । बाटामा खाजा खाएर हामी भद्रपुर आइपुग्यौ । नरेन्द्र प्रधान हामीलाई पुर्याउन भद्रपुरसम्मै आए । उनी काङ्ग्रेसी राजनीतिबाट आजित काङ्गे्रस रहेछन् । मलाई पहिलेदेखि नै राम्ररी चिन्ने भद्रपुर एअरपोर्टका प्रहरी इन्चार्ज कृष्णकुमार लामाले हामीलाई भिआइपी लन्चमा लगेर बसाए र रामै्र स्वागत पनि गरे । हाम्रो टिकट बुद्ध एयरको थियो । त्यस दिन ठीक समयमा प्लेन आयो र उड्यो पनि । काठमाडौमा प्लेन ल्यान्ड गरेपछि मैले ओर्लिदै गर्दा गेटनेर उभिएर अभिवादन गर्ने झिल्की खलासीलाई ‘…यस बुद्ध एयर अनुरोध गर्दछ…’ भन्ने उद्घोषणको भाषा नमिलेको बताउदा उसले त्यसलाई ठीक भएको बताई । राष्ट्रकै लाल बुझक्कडहरूले भाषाबारे गन्डागोल मच्चाइरहेका बेला अर्काले लेखिदिएको भट्ट्याउने त्यस झिल्कीसँग मैले त्यसभन्दा बढी कुरा नगर्नु नै उत्तम ठाने र प्लेनबाट ओर्लिए । बाहिर निस्कने बित्तिकै एकजना सज्जनसंग भेट भयो । उनले भद्रपुरमा आफु भिआइपी लन्चमा भएकाले देखादेख नभएको बताए । विजय थापा बीचैमा भिआइपी लन्चमा त हामी पो थियौ भनी प्वाक्क बोलिहाले ।

रामबाबु र मेरा बीचमा यस्तै खालको ठट्टा भइसकेको थियो । मेरो भनाइ यथार्थमा रूपायित भएकोमा उनी खित्का छोडेरै हांसे र ‘५–६ जना मान्छे भेट्नेबित्तिकै म यो कुरा सुनाइहाल्छु भने । वास्तवमा रामबाबु सुनेजस्ता नभएर बोलेजस्ता माइ डियर नै रहेछन् । तारानाथले घर पुर्याइदिने कुरा गर्दा ती सज्जन अफिसमा जरुरी काम छ भन्दै हिडिहाले । तिनको अफिस कत्तिको काम भएको अफिस हो अनि ती कत्तिको काम गर्ने मान्छे हुन् भन्ने जानकारी त्यहा सबैलाई थियो । हामी केही नबोली ट्याक्सी चढेर आआफ्नो बाटो लाग्यौ । इलामको प्राकृतिक सौन्दर्य अनि त्यहाको भव्य आतिथ्य मन र मुटुभरि सगालेर हामी आफ्नै कर्मथलोमा भित्रियौ । मलाई इलामको प्राकृतिक रमणीयता र अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भव्यताले निकै दिनसम्म चिमोटि रह्यो।