अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२३ | Colorodo: 23:38

न्यु योर्कमा वसन्त चौधरीको विश्व काव्य यात्रा सफलतापूर्वक सम्पन्न,आयोजक द्वारा चौधरी अभिनन्दन

बिआरटीनेपाल २०७६ भदौ २८ गते ९:३९ मा प्रकाशित

न्युयोर्कमा वरिष्ठ कवि तथा गीतकार वसन्त चौधरीको विश्व काव्य यात्रा दोस्रो शृङ्खला अन्तर्गत न्यु योर्क शृङ्खला एक भव्य समारोह बिच सफलतापूर्वक सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास )न्यु योर्क शाखाले आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष राजेन्द्र श्रेष्ठले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि न्यु योर्क राज्यका सिनेटर जोन सी लिऊ ,कार्यक्रमका विशेष अतिथि मुख्य आकर्षक वसन्त चौधरी र अनेसास बोर्ड अफ ट्रस्टिजका अध्यक्ष गीता खत्री विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

कार्यक्रमको शुभारम्भ विशेष अतिथि कवि वसन्त चौधरीका हातबाट पानसमा बत्ती बालेर गरिएको थियो। कार्यक्रमको सुरुवात लोकप्रिय कलाकार द्वय सपना श्री र सङ्गीता छोचुंले नेपाली राष्ट्रिय गान र प्रतिभा वान सानी कलाकार अर्मानी महर्जनले अमेरिकन राष्ट्रिय गान गाएर गरिएको थियो। स्वागत मन्तव्यका लागि आउनु भएका कार्यक्रम सभापति राजेन्द्र श्रेष्ठले सबै उपस्थित अतिथिहरूलाई स्वागत गर्नुका साथ साथै ९ /११ को दिनमा परेको कार्यक्रममा समस्त अमेरिका र विश्वका निम्ति कालो दिनको सम्झना दिलाउँदै केही क्षण मौन धारण गर्न आह्वान गर्नु भयो।

उद्योगपति तथा समाजसेवीका रूपमा देश तथा विदेशमा सुपरिचित वसन्त चौधरीले अनेक कालजयी गीतहरू नेपाली सङ्गीत जगतलाई प्रदान गरेर तथा नेपाली तथा हिन्दी भाषामा आफ्ना कविता सङ्ग्रह प्रकाशित गरेर एक कुशल गीतकार र कबिका रूपमा पनि आफ्नो विशिष्ट पहिचान बनाउनु भएको छ।

कार्यक्रममा उहाँले लगभग एक घण्टा एकल कविता वाचन शैलीमा आफ्ना पूर्व प्रकाशित र प्रकाशोन्मुख कविता, गीत/गजल र मुक्तक वाचन गरेर सबैको मन जित्नु भएको थियो। नेपाली भाषा मात्र नभएर उहाँले हिन्दी तथा अङ्ग्रेजी कविता/गीतहरू मार्फत उपस्थित विदेशी अतिथिहरूलाई पनि उत्तिकै हर्षित बनाउनु भएको थियो। नेपाली,विदेशी भाषा साहित्य प्रेमी दर्शकहरूले सभा कक्ष खचाखच भरिएको थियो । मिठो स्वरका धनी चौधरी सँगै दर्शक हरुले पनि गजल गाएर झुमेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि र स्वयं स्रष्टा द्वारा चौधरीको नयाँ कविता सङ्ग्रह “वसन्त”को लोकार्पण पनि गरिएको थियो। सो पुस्तक नेपाली भाषामा मात्र नभएर हिन्दी ,मैथली ,मारवाडी, नेपाल भाषा, बङ्गाली, अङ्ग्रेजी आदि गरी ९ भाषामा प्रकाशित गर्नु भएको छ जुन नेपाली साहित्यमा एउटा इतिहास नै बनेको छ। सोही अवसर मा न्यु योर्क बासी नेपालीको तर्फबाट उहाँलाई अभिनन्दन गरिएको थियो । प्रमुख अतिथि जोन सी लिऊ र विशेष अतिथि गीता खत्रीले अभिनन्दन पत्र र सभापति राजेन्द्र श्रेष्ठ ले दोसल्ला र पुष्प गुच्छा अर्पण गर्नु भएको थियो ।

उक्त अभिनन्दन पत्रमा लेखिएको कार्यक्रम कि उद्घोषक शकुन ज्ञवालीले पढेर सुनाउनु भएको थियो । सोही अवसरमा न्यु योर्क सहरको तर्फबाट वसन्त चौधरी ले नेपाली साहित्य र काव्य जगतलाई विश्व काव्य शृङ्खला मार्फत संसार भरी नेपाललाई चिनाउनुका साथै नेपाली कला साहित्यमा उहाँले पुर्‍याउनु भएको योगदान को कदर गर्दै प्रमुख अतिथि जोन सी लिऊ ले साईटेसन ( प्रशंसात्मक उल्लेख ) प्रदान गर्नु भएको थियो ।

अभिनन्दन व्यक्तित्व वसन्त चौधरीले कार्यक्रमका प्रमुख अतिथि र अनेसास न्यु योर्क च्याप्टरलाई माया को चिनो प्रदान गर्नु भएको थियो ।लेखक स्वयम्ले आफ्नो नयाँ कृति “वसन्त”को नौ वटै भाषाको किताबहरू प्रदान गर्नु भएको थियो। अत्यन्तै उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा लेखकले अनेसास न्यु योर्क शाखालाई विशेष धन्यवाद दिँदै यस काव्य यात्रामा सहयोग गर्ने सबै र उपस्थित श्रोता तथा सहभागी साहित्यप्रेमीहरूलाई धन्यवाद ज्ञापन गर्नु भयो।

विशेष अतिथि गीता खत्री ले वसन्त चौधरीलाई बधाई दिनुका साथै उहाँको विश्व काव्य यात्राको अन्तिम शृङ्खला पनि न्यु योर्क मै गर्ने घोषणा गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रम का सभापति राजेन्द्र श्रेष्ठ र समाज सेवी सोमनाथ घिमिरेले उपस्थित सम्पूर्ण पाहुनाहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो। कार्यक्रमको उद्घोषक अनेसास न्यु योर्क शाखाका उपाध्यक्ष शकुन ज्ञवालीले कुशलतापूर्वक गर्नु भएको थियो ।

 

तस्बिर :हाम्रो फोटो डटकम

प्रतिक्रिया