अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा सांसद श्रेष्ठ विजयी

बिआरटीनेपाल २०७६ भदौ २८ गते ७:२६ मा प्रकाशित

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा सांसदसमेत रहेका जीवनराम श्रेष्ठ विजयी हुनुभएको छ । शनिबार सम्पन्न कमिटीको निर्वाचनमा श्रेष्ठ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । निर्वाचनमा खसेको कूल २७ मतमध्ये श्रेष्ठले १७ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गर्नुभयो ।

श्रेष्ठ चार वर्षे कार्यकालका लागि पुनः निर्वाचति हुनुभएको हो । कमिटीको उपाध्यक्षमा ज्याति राणा, सुनीलकुमार श्रेष्ठ, तेजबहादुर गुरुङ, अशोकरत्न बज्राचार्य र चतुरानन्द राज बैध निर्वाचित हुनुभएको छ भने महासचिवमा निलेन्द्ररा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

समितिको कोषाध्यक्षमा रतन टन्डन विजयी हुँदा उपमहासचिवमा पिताम्बर तिम्सिना निर्वाचित हुनुभएको छ । सचिवमा दीपकहर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ र तुलसी थापा र सदस्यमा दीर्घबहादुर केसी, रमेशकुमार शिवाकोटी, होमबहादुर दोङ, गोपाल सुन्दरलाल कक्षापति, प्रकाश सम्शेर राणा, राम अवाले र टासी घले विजयी भहुनुभएको छ ।

भदौ २० गते सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको निर्वाचन आज भएको थियो । अन्तराष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा निर्वाचन भएको थियो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कमिटीको स्वायत्ततालाई प्रभावकारीरुपमा अगाडि बढाउने, नेपालमा आसन्न साउथ एशियन खेललाई सफल बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ । श्रेष्ठ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य समेत हुनुहुन्छ ।

प्रतिक्रिया