अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

वैवाहिक अंगिकृत नागरिकता सम्बन्धी सरकारको प्रस्तावमा कांग्रेसको असहमति

बिआरटीनेपाल २०७६ भदौ २८ गते १:०८ मा प्रकाशित

वैवाहिक अंगिकृत नागरिकताका सम्बन्धमा सरकारले गरेको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असहमति जनाएको छ । सरकारको तर्फबाट गृह मन्त्री रामबहादुर थापा बादलले शुक्रबार संसदको राज्यव्यवस्था समितिमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाहको सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्ने व्यवस्था गर्न प्रस्ताव गर्नुभएको थियो ।

त्यसबारे शुक्रबार केही नबोलेको नेपाली कांग्रेसले पार्टीमा आन्तरिक छलफलपछि विरोध जनाएको हो । शनिबार बिहान राज्यव्यवस्था समितिको बैठकमा कांग्रेसले सरकारको प्रस्ताव आफूले स्वीकार गर्न नसक्ने जनाएको हो । हाल नागरिकता ऐन २०६३ प्रचलनमा छ । त्यसलाई संशोधन गर्न बनेको विधेयकमा सरकारले विवाहको सात वर्षपछि मात्रै वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्ने र तत्कालका लागि राजनीतिक अधिकार बाहेकको परिचय पत्र प्रदान गर्ने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव अनुसार नेपाली नागरिकसँग विवाह गर्ने महिलाले सात वर्षपछि मात्रै राजनीतिक अधिकारसहितको अंगिकृत नागरिकता प्राप्त गर्ने छिन् । हाल प्रचलित ऐनमा भने ‘एक हातमा सिन्दुर, एक हातमा नागरिकता’ भन्ने मान्यता अनुसार विवाह लगत्तै वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्ने व्यवस्था छ ।

कांग्रेसले नयाँ व्यवस्था न्यायोचित नभएको दाबी गरेको छ । नेपाली महिलासँग विवाह गर्ने पुरुषको हकमा भने अरु विदेशीले नेपाली नागरिकता पाउनु पर्ने शर्तहरु जस्तै १५ वर्ष पर्खनु पर्ने व्यवस्था छ। सत्तारुढ नेकपाको बहुमत रहेकाले प्रस्तावित विधेयक बहुमतका आधारमा पारित गर्ने पक्षमा सरकार रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू