अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

अमेरिकामा आप्रवासीलाई आश्रय दिन नपाइने आदेशको संयुक्त राष्ट्रसंघद्वारा असन्तुष्टि र एम्नेस्टीद्वारा निन्दा

बिआरटीनेपाल २०७६ भदौ २७ गते १०:०१ मा प्रकाशित

आप्रवासीलाई दिइने आश्रय कटौती गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिलाई त्यहाँको सर्वोच्च अदालतले अनुमति दिएकोप्रति संयुक्त राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर) ले पछुतो हुने र यसले भविष्यमा ठूलो समस्या उत्पन्न गर्नेभन्दै असन्तुष्टि प्रकट गरेको छ भने एम्नेस्टी इन्टरनेशनल यूएसएले निन्दा गरेको छ ।

यूएनएचसीआरका प्रवक्ता एन्ड्रेज महकेकले सञ्चारकर्मीसँग कुराकानी गर्दै हरेक व्यक्तिलाई शरण लिन पाउने अधिकार र अन्तर्राष्ट्रिय सुरक्षा हुनुपर्ने बताउनुभयो । त्यसैगरी एम्नेस्टी इन्टरनेशनलले सर्वोच्च अदालतको आदेश सुरक्षाको खोजीमा रहेका मानिसहरुलाई मृत्युदण्ड दिए सरह भएको टिप्पणी गरेको छ ।

एम्नेस्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हरेक नागरिकलाई सुरक्षित बाँच्न पाउने अधिकार हुन्छ । तर, अमेरिकी ट्रम्प प्रशासन र सर्वोच्च अदालतको आदेशले मानवतालाई नै बेवास्ता गरेको पाइन्छ ।“ अमेरिकाको सर्वोच्च अदालतले बुधबार राष्ट्रपति ट्रम्पले लिएको आप्रवासीलाई दिइने आश्रय कटौती गर्ने योजनालाई अनुमति दिएको थियो । आदेश अनुसार तेस्रो देश हुँदै आएका आप्रवासीले सबैभन्दा पहिला जुन देश हुँदै आएका हुन् त्यही देशमा आश्रय दाबी गर्नुपर्ने छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै अमेरिकी सर्वोच्च अदालतको फैसलाको प्रशंसा गर्नुभएको थियो । ट्रम्प राष्ट्रपतिका लागि भएको चुनावी प्रचारप्रसारका क्रमदेखि नै आप्रवासीप्रति कडा रुपमा प्रस्तुत हुँदै आउनुभएको छ । उहाँ राष्ट्रपतिमा निर्वाचित भइसकेपछि आफ्नो एजेण्डालाई मुर्त रुप दिन थाल्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू