अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

नेपालगञ्जमा अस्पतालले मृत घोषणा गरेको शिशु जिवीतै, गाड्न लैजाँदा चलमलाइन्

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:५८ मा प्रकाशित

सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको शुक्रबार बिहानै करिब पाँच बजे शिशुलाई जन्म दिइन् । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई दियो।

अस्पतालको प्रसुतिकक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भएको भन्दै कपडामा पोको पार्दै पोलोथिनमा राखेर अन्तिम संस्कारका लागि थमाइदिए । शिशु जन्मिएपछि खुसी भएका श्रीमान् मिलन एकाएक मलिन अनुहार बनाउँदै अन्तिम संस्कार गर्ने तयारीमा लागे ।

छेडागाड नगरपालिका–९ जाजरकोटकी २० वर्षीया कमलाको शिशुलाई अस्पतालले मृत घोषित गर्दै आफन्तको जिम्मा लगाएपछि मिलनले अन्तिम संस्कारका लागि नेपालगञ्जस्थित बुलबुलियातर्फ लैजाँदै गर्दा शिशु बीचबाटोमै चल्मलायो ।

‘प्रसुतिकक्षका कर्मचारीले तपाईंको बच्चा मरेको भन्दै पोलिथिनमा राखेर दिए, दुखी हुँदै हामी पनि सतगद् गर्न बुलबुलियातर्फ लैजाँदै गर्दा बच्चा चल्मलाएपछि तुरुन्त अस्पताल ल्यायौं,’ घटनाको विवरण सुनाउँदै मिलनले भन्नुभयो ‘ज्यूँदो बच्चालाई मृत घोषित गर्दै अस्पतालले गाड्न पठायो, यो अस्पतालको चरम लापरवाही हो कारबाही गरिनुपर्छ।’

उहाँले मरेको शिशुलाई गाडिदिने भन्दै अस्पतालका कर्मचारीले आफूसँग दुई हजार रुपैयाँसमेत मागको बताउनुभएको छ । एकातिर ज्यूँदो बच्चालाई मरेको भनेर गाड्न लगाउँछ, त्यसैमा अस्पताल कर्मचारीले हामीसँग बार्गेनिङ गर्दै बच्चा गाड्ने रकम माग्छ, यो कहाँको कानून हो, कर्मचारीले कपडा धोएको ५०० र बच्चा गाडेको एक हजार ५०० गरी दुई हजार मागेपछि हामी आफैं गाड्छौँ भनेर लैजाँदै गर्दा बच्चा चल्मलायो,’ मिलनले भन्नुभयो । शिशुलाई अहिले आइसीयूमा भर्ना गरिएको छ। सो अस्पतालको रेकर्डअनुसार कमलाको २३ सातामा छोरीको जन्म भएको हो।

सकुशल जन्मिएको शिशुको तौल ६०० ग्राम रहेको छ। गर्भवती भएदेखि नै अस्पतालकी डाक्टर उर्मिला पराजुली रिसालसँग नियमित जाँच गरिरहेकी कमला जाँचकै लागि बिहीबार नेपालगञ्ज जानुभएको थियो । नवजात शिशुलाई भेरी अस्पताल प्रसुतिकक्षमा कार्यरत कर्मचारीको चरम लापरवाहीका कारण मृत घोषणा गरेपछि पीडितहरुले दोषीलाई कारबाहीको माग गरेका छन् । अस्पतालले भने कमला सुत्केरी नभई गर्भपतन भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू