अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

नेपाल ओलम्पिक कमिटी ‘एनओसी’कोे निर्वाचन शनिबार

बिआरटीनेपाल २०७६ भदौ २७ गते ९:५२ मा प्रकाशित

नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ कार्यसमितिका लागि यही भदौ २८ गते निर्वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । यसअघि, भदौ २० गतेका लागि तय गरिएकोे निर्वाचन सर्वोच्च अदालतको आदेशले स्थगित भएको थियो ।

न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यही भदौ १७ गते अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको थियो । सर्वोच्च अदालतले वि.सं. २०६७ मा मान्यता दिएको रुक्मशमशेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै, महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

तर, कोषाध्यक्षमा रतन टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिना निर्विरोध निर्वाचित भईसक्नुभएको छ । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ ।

????

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू