अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 11:39

दक्षिण अफ्रिकामा हिंसा, ७५५ विदेशीलाई सुरक्षित स्थलमा राखियो

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:५१ मा प्रकाशित

दक्षिण अफ्रिकामा हालै भड्किएको हिंसाका कारण असुरक्षित महसुस गरेका विदेशी एवं आप्रवासी नागरिकलाई सुरक्षित स्थलमा राखिएको दक्षिण अफ्रिकी सरकारले जनाएको छ । पछिल्लो समय दक्षिण अफ्रिकाका विभिन्न सहरमा विदेशी एवं आप्रवासी नागरिक र स्थानीयबीच हिंसा भडकिएको छ ।

विदेशीका कारण आफ्नो रोजगार गुमेको भन्दै स्थानीयले विदेशी नागरिकका व्यवसायमाथि तोडफोड र आक्रमण गरेका थिए । रक्षामन्त्री नोसिभिवे मापिसाले राजधानी जोहानेसबर्गबाट ३५ किलोमिटर पूर्वतर्फको डीएच विलियम्स एन्ड सोलो कम्युनिटी सेन्टरमा विदेशी नागरिकलाई सुरक्षासाथ राखिएको जानकारी दिनुभएको छ । त्यहाँ करिब २२८ जना शरणार्थी बालबालिका पनि रहेका छन् ।

दक्षिण अफ्रिकामा गत साता हिंसा भड्किएको थियो । विदेशी नागरिकको हातमा मुलुकको अर्थतन्त्र गएको भन्दै विदेशी नागरिकमाथि स्थानीयले आक्रमण गरेका थिए । रक्षामन्त्री मापिसाकाअनुसार उक्त घटनामा संलग्न रहेको आरोपमा हालसम्म करिब ७०० व्यक्तिलाई गिरफ्तार गरिएको छ ।

गत मंगलबारसम्म हिंसाका कारण १२ जना मारिएका छन् । जसमा १० जना दक्षिणी अफ्रिकी नागरिक छन् । उहाँले विदेशीलाई पर्याप्त मानवीय सहायता उपलब्ध गराइएको जानकारी दिनुभयो । यसै साता जिउज्यानको असुरक्षाको कारण देखाउँदै ६४० जना नाइजेरियाली नागरिक स्वदेश फर्कंदै छन् । रक्षामन्त्री मापिसाले दक्षिण अफ्रिका विदेशी नागरिकप्रति असहिष्णु मुलुक होइन, छैन भन्दै कानुन हातमा लिने जोसुकैमाथि कडा कारबाही गरिने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू