अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

यू–१९ एशिया कप क्रिकेट–  नेपालको सान्त्वना जित

बिआरटीनेपाल २०७६ भदौ २५ गते १:५२ मा प्रकाशित

श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित हात पारेको छ । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १६० रनले पराजित गरेको छ । श्रीलङ्काको कटुनाएकेमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २८५ रन बनायो ।

२८६ रनको विजय लक्ष्य पछ्याएको यूएई ३४ दशमलव चार ओभरमा सवै विकेट गुमाउँदै १२५ रनमा समेटियो । ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वा्धिक ६७ रनको योगदान दिए । उनले ८४ बल खेल्दै एक छक्का र नौ चौका प्रहार गरे । सन्दीप जोराले ५३ बलमा छ चौकासहित ४८, राशिद खानले ४४ बलमा एक छक्का र पाँच चौकासहित ४४, आशिफ शेखले ४५, कमलसिंह ऐरीले २६ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४१ र कुशल मल्लले २२ रन बनाए ।

बलिङतर्फ यूएईका सञ्चित शर्मा र आकाश ताहिरले तीन÷तीन, कात्तिक पलानियाप्यनले दुई तथा ऋषभ मुखर्जीले एक विकेट लिए । ब्याटिङतर्फ यूएईका लागि अरविन्द्र रुद्रवेलले २८, अल्सान शरफुलले २१ तथा शैयद हैदरले १५ रन बनाए । बलिङतर्फ नेपालका लागि सागर ढकालले तीन, पवन सर्राफ, सूर्य तामाङ र राशिद खानले दुई÷दुई तथा कमलसिंह ऐरीले एक विकेट लिए ।

समूह ‘बी’मा रहेको नेपाल यसअघि पहिलो खेलमा श्रीलङ्कासँग पाँच विकेटले तथा दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू