अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

नासा र आन्माकाे संयुक्त सम्मेलनमा नेपाल फोरममा उच्च बौद्धिक बहस

बिआरटीनेपाल २०७६ भदौ २२ गते ९:२१ मा प्रकाशित

नासा र आन्माकाे संयुक्त आयोजनामा गत अगस्त ३०,३१ र सेप्टेम्बर १ तरिका गरी तीन दिन सम्म अमेरिकाको नर्थक्याराेलिनास्थित विन्स्टन सेलममा एक बृहत् सम्मेलन सम्पन्न भयो । हरेक वर्ष गरिने यो संयुक्त सम्मेलनमा विभिन्न विषयका फाेरमहरु सञ्चालन गरिन्छ जसमध्ये नेपाल फोरम एक महत्त्वपूर्ण सत्र मानिन्छ । 

यस कार्यक्रमका संयोजक पर्यटन दूत तथा नासाका प्रथम निर्वाचित अध्यक्ष राजा घले थिए । प्रमुख अतिथिका रूपमा नेपालका पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी थिए । उक्त सत्रमा डा तिलक श्रेष्ठले नेपाल र नेपालीको समृद्धि प्र म ओली शीर्षकमा आफ्नो गोष्ठीपत्र प्रस्तुत गर्दै वर्तमान नेपालमा देखिएका राष्ट्रियता, प्रजातन्त्र, विकास र प्राचीन परम्पराका बारेमा आफ्ना धारणा प्रस्तुत गरे ।

त्यस क्रममा नेपालमा जुलाई २०१५ मा लिएको जनमतलाई प्रकाशन र कदर गर्नु पर्नेमा नगर्नु अपराध पूर्ण हुन गई वर्तमान सम्बोधन अवैध हुन पुगेको हो भनी जिकिर गरे । धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्र नेपालका राष्ट्रिय मुद्दा हुन् । यी तिन वटै कुरा जनताको समर्थन बिना नै देशमा लादिएका हुन् । यिनका बारेमा राष्ट्रिय संवाद र जनमत सङ्ग्रह हुनुपर्छ भनी डा श्रेष्ठले अडान लिए । यस्तै नेपालमा सत्र हजार नेपाली मारिएकामा दुख प्रकट गर्दै तीमाथि न्याय हुन अत्यावश्यक छ भनी जिकिर गरे ।

तिनका अलावा डा श्रेष्ठले नेपालमा भएको भ्रष्टाचार, अराष्ट्रिय गतिविधि ( नकारानकारी, आतङ्कयुक्त राजनीति, अनुत्तरदायी अर्थनीति, अनुत्तरदायी वैदेशिक रणनीति, मानव बेचबिखन चगा बलात्कार, एन जी ओ परिचालित धर्मान्तरण, अव्यवस्थित नागरिकता वितरण, मानवअधिकार तथा न्यायिक स्वतन्त्रताका विरुद्धका नीतिहरू )का बारेमा चर्को आवाज उठाए ।

दाेस्राे वक्ता त्रिभुवन विश्वविद्यालयका प्रा डा कुसुमकार न्यौपानेले नेपाली लाेकसंस्कृतिकाे वर्तमान अवस्थाका बारेमा आफ्ना धारणा प्रस्तुत गरे । त्यस क्रममा लोकसंस्कृति बिनाको राज्य प्राण विहीन हुन्छ भन्दै वर्तमान नेपालमा लोकसंस्कृति खतरा अव्यवस्थामा पुगेको छ भन्दै चिन्ता प्रकट गरे । यस्तै हरेक व्यक्तिले आ आफ्ना क्षेत्रमा इमानपूर्वक कर्म गरे देशको विकास हुनेछ भनी खेशमा इमानको अभाव भएको तर्कहरू प्रस्तुत गरे । देशका हरेक पाटामा सुगन्ध ल्याउनुपर्नेमा दुर्गन्ध ल्याउने काम भएकाले सबै नेपाली यसतर्फ सजग हुनुपर्ने कुरा व्यक्त गरे ।

अमेरिकास्थित हार्वर्ड विश्व विद्यालयका प्रा डा शिव गौतमले नेपालको विकासमा प्रवासी नेपालीले खेल्न सक्ने भूमिका विषयमा आफ्ना धारणा प्रस्तुत गरे । त्यस क्रममा विदेशमा बसेका सिपयुक्त उच्च प्राज्ञिक जनशक्ति उपयोग नगरेकोमा चिन्ता प्रकट गरे ।

नेपालबाट आएकी डा बुना पोखरेल दाहालले विगतमा भए गरेका गल्ती कमजोरीप्रति टीकाटिप्पणी गरेर होइन हरेक व्यक्ति, वर्ग र समुदाय देशबिकासमा एकजुट भएर लाग्नु पर्नेमा वर्तमान सरकार र राजनैतिक दलहरू राम्रा कामका लागि उदासीन देखिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । भ्रष्टाचार र बेथिति मौलाएका कारण देशले भोग्नुपरेको पिडाप्रति पनि वहॉले औँल्याउनुभयो ।

वक्ताहरूको उक्त प्रस्तुति पछि सहभागीहरूका बिच चर्को प्रश्नोत्तर पनि भएको थियो । त्यस क्रममा प्रमुख अतिथिले वर्तमान सरकारले राम्रो कार्य गरेको र अपराधजन्य गतिविधि राजाका पालामा पनि भएको शृङ्खला अहिले पनि हुनु कुनै नाैलाे कुरा होइन भनी लिएका जिकिर प्रति वक्ता तथा सहभागीहरूले अस्वीकृत तथा असन्तुष्टि व्यक्त गरेका थिए । यसरी यो कार्यक्रम निकै रोचक र फलदायी हुन पुगेको थियो । 

प्रतिक्रिया