अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

प्राचीन बस्तीहरूको पुनर्निर्माण र स्मार्ट सिटी विकासका लागि कोरियाले सहयोग गर्ने

बिआरटीनेपाल २०७६ भदौ २१ गते ९:०५ मा प्रकाशित

दक्षिण कोरिया, सियोल । काठमाडौँ उपत्यकाका प्राचीन बस्तीहरूको पुनर्निर्माण र स्मार्ट सिटीहरूको विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको छ ।

ऐतिहासिक महत्त्वका काठमाडौँ उपत्यकाका साँखु, बुङमती र खोकनाको परम्परागत बस्तीहरूको पुनर्निर्माण गर्न तथा सोसँग जोडिएका क्षेत्रहरूमा स्मार्ट सिटी बनाउनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौँ उपत्यका विकास प्राधिकरण र सियोल हाउजिङ एन्ड कम्युनिटी करपोरेसनबीच सियोलमा आज समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार पहिलो चरणमा सियोल हाउजिङ एन्ड कम्युनिटी कर्पोरेसनले प्राचीन बस्तीका रूपमा रहेको साँखु, बुङमती र खोकनाको मुख्य बस्ती र सोसँग जोडिएका क्षेत्रहरूको गुरुयोजना तयारी एवं विभिन्न योजनाहरूको विस्तृत परियोजना प्रस्ताव तयार पार्नका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । सो परियोजना प्रस्तावका आधारमा कोरिया सरकार तथा निजी क्षेत्रमार्फत लगानी परिचालन गरिने भएको छ ।

यस्तै सियोल हाउजिङ एन्ड कम्युनिटी कर्पोरेसनले स्मार्ट सिटी विकासका सन्दर्भमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौँ उपत्यका विकास प्राधिकरणको संस्थागत क्षमता विकासमा सहयोग पुर्‍याउनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त समझदारी काठमाडौँ उपत्यकाका प्राचीन बस्तीहरूको संरक्षण गर्न तथा नयाँ सहरहरूको विकासका लागि कोसे ढुङ्गा साबित हुने बताउनुभयो ।

सियोल हाउजिङ एन्ड कम्युनिटी कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत सी योङ कमले सहरी क्षेत्रको पुनर्निर्माण तथा स्मार्ट सिटीहरूको विकासका सन्दर्भमा कोरियाले प्राप्त गरेको ज्ञान तथा अनुभव नेपाललाई बाँड्न पाउँदा खुसी लागेको बताउनुभयो ।

समझदारीपत्रमा नेपालका तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेल र कोरियको तर्फबाट कार्यकारी निर्देशक इन गो काङले हस्ताक्षर गर्नु भएको छ ।

सियोल हाउजिङ एन्ड कम्युनिटी कर्पोरेसन सियोल महानगरपालिका अन्तर्गत सियोल क्षेत्रमा नयाँ सहरहरूको विकास गर्न तथा आवासहरूको निर्माणका लागि स्थापना गरिएको निकाय हो ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ग्लोबल इन्फ्रास्टकचर को अपरेसन कन्फेरेन्समा नेपालको पुनर्निर्माणको भावी कार्य योजना र अन्तर्राष्ट्रिय सहयोगको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

उक्त सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव वान कि मुनले सहरी क्षेत्रको विकास तथा पूर्वाधारहरू निर्माण गर्दा पर्यावरणीय संरक्षण र दिगो विकासका निम्ति सबै मुलुकहरूका बिच सहकार्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू