अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

अमेरिकाको बोस्टनमा साहित्य सम्मेलन सम्पन्न

ईश्वरी भट्ट २०७६ भदौ २१ गते ९:०० मा प्रकाशित

न्यूह्यामसायर । अमेरिकाको बोस्टनमा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा भाषा–साहित्य उपसमितिले सेप्टेम्बर १ र २ मा ‘प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलन–२०१९’ सम्पन्न गरेको छ। उक्त सम्मेलनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य एवम् काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको विशिष्ट आतिथ्य रहेको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले नेपाली भाषा–साहित्य तथा कला–संस्कृतिको समृद्धिका लागि डायस्पोरामा रहेका नेपाली स्रष्टाहरूले खेलेको उल्लेखनीय भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

काव्य विभाग प्रमुख प्राज्ञ प्रा.डा. पौडेलले नेपाली भाषा तथा साहित्यको वर्तमान अवस्था र यसको अन्तर्राष्ट्रिय करण सम्बन्धमा कार्यपत्रसहित मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सम्मेलनमा अमेरिकाका विभिन्न राज्यका अतिरिक्त क्यानडा, अफ्रिका, रसिया लगायतका प्रतिनिधि स्रष्टाहरूको सहभागिता रहेको थियो । सम्मेलनको पहिलो दिन पाहुना परिचय तथा काव्यगोष्ठीको आयोजना गरिएको थियो । गज लकार कृष्ण कुसुमबाट सुरु भएको उक्त गोष्ठीमा डा गोविन्दसिंह रावत, गोविन्द गिरी प्रेरणा, सर्वज्ञ वाग्ले, लाल गोपाल सुवेदी, मणि नेपाली पनेरू, गोविन्द गौतम, ममता कर्माचार्य, अनु शाहले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो ।

यसै गरी कार्यक्रममा नेपालबाट जानुभएका रमेश पौडेल, हिक्मत थापा, सुरेन उप्रेती, अग्नि पराजुली, तारा उप्रेती, सूर्य भट्टराई, सिर्जना शर्मा, जयराम रेग्मी, लव अधिकारी, हरि काफ्ले शैव, गीता खत्री, दीपा राई पुन, महेश्वर पन्त, नवीन उप्रेती, प्रेम चौलागाईं, पशुपति सालघारी, लक्ष्मी बजगाईं, जयराम रेग्मी, यम पौडेल, ईश्वरी भट्ट, हरिमाया अधिकारी, सुरेश वाग्ले तथा उमा पराजुली, गोवर्द्धन पूजालगायतले कविता वाचन गर्नुभएको थियो । कार्यक्रम एनआरएन म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङको अध्यक्षता र न्यूह्यामसायर च्याप्टरका अध्यक्ष डम्बर कडरियाको आतित्थ्यतामा सम्पन्न भएको थियो ।

दोस्रो दिनको कार्यक्रममा भाषा–साहित्यका बारेमा प्रा.डा. हेमनाथ पौडेल, हरि अधिकारी, गोविन्द गिरी प्रेरणा, गोविन्दसिंह रावत, गीता खत्री, पदम विश्वकर्मा, हिक्मत थापा, विष्णुमणि आचार्य, सर्वज्ञ पौडेल, सुरेन उप्रेती, सपिला राजभण्डारी, महेश्वर पन्तलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बोस्टनका नेपालीद्वारा खरिद गरिएको भवन ‘नेपाली भवन पशुपतिनाथ बौद्ध फाउन्डेसनको प्रेक्षालयमा पहिलो पटक आयोजना गरिएको उक्त सम्मेलनमा महेश पौडेलद्वारा सम्पादित अमेरिकामा बसेर कथा लेखिरहेका २१ जना कथाकारको कथाको अङ्ग्रेजी अनुवाद कृति ‘डिस्टेन्ट सनरेज’, नेपाल प्रज्ञा–प्रतिष्ठान र एनआरएनएद्वारा प्रकाशित तथा प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ माया ठकुरी, प्राज्ञ शशी लुमुम्बू, गोविन्दप्रसाद गौतम, लेखनाथ काफ्ले र सुरेन उप्रेतीद्वारा सम्पादित १३ देशका ५५ जना प्रतिनिधि कथाकारहरूको कथा ग्रन्थ ‘अन्तर्देशीय नेपाली कथाहरू’ र २४६ जना महिला मुक्तककारका ४।४ वटा मुक्तक सङ्ग्रहीत ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ नामक कृतिको लोकार्पण गरिएको थियो ।

कार्यक्रममा रमेश पौडेलद्वारा सम्पादित मुक्तक सङ्ग्रहबाट गोवर्द्धन पूजाले शकुन ज्ञवाली, उषा शेरचन र गौरी तमुको मुक्तक र दीपा राई पुनले सरस्वती श्रेष्ठ सरुको मुक्तक वाचन गरी सुनाउनुभएको थियो ।

उक्त सम्मेलनले ६ बुँदै घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य दिवसका रूपमा मनाउने, साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूलाई नेपालमा आमन्त्रण गरी पर्यटन वर्ष २०२० का उपलक्ष्यमा अन्नपूर्ण वा सगरमाथा आधार शिविरमा विश्व साहित्य सम्मेलन गर्ने, प्रत्येक महादेशमा नेपाली कृतिहरूलाई त्यहाँका स्थानीय भाषामा अनुवाद गरी प्रकाशन गर्ने उल्लेख छ ।

यस्तै, प्रत्येक दुईवर्षमा नेपाली भाषा साहित्य सम्मेलन गर्ने, प्रवासमा रहेर नेपाली भाषा साहित्यमा निरन्तर योगदान दिने साहित्यकार र विधाको सूची तयार पार्ने, डायस्पोरामा नेपाली भाषा साहित्यमा निरन्तर सेवा गर्ने साहित्यकारहरूलाई छनौट गरी सम्मान गर्ने आदि रहेको छ ।

सम्मेलनका संयोजक गोविन्द गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारद्वय कृष्णप्रकाश श्रेष्ठ र होमनाथ सुवेदीलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो ।कार्यक्रममा अर्थ संयोजक ईश्वरी भट्टले कार्यक्रमलाई सहयोग गर्ने व्यक्तिहरूको नाम र रकम सुनॉउदै सबैलाई एक मुष्ट धन्यवाद व्यक्त गर्नु भएको थियो। कार्यक्रम संयोजक महेश्वर पन्त र सञ्चालन सर्वज्ञ वाग्लेले गर्नु भएको थियो। कार्यक्रमको सभापतित्व गोविन्द प्रसाद गौतम ( साहित्य विभाग प्रमुख)ले गर्नु भएको थियो भने उपाध्यक्ष सपिला राजभण्डारी , केन्द्रीय कोषाध्यक्ष हिक्मत थापा र आर सी गौरी जोशीको पनि आतित्थ्यता रहेको थियो।

यसै गरी साँझ आयोजित सांस्कृतिक कार्यक्रममा श्याम नेपाली, रञ्जन बुढाथोकी, मीन केसी, महेश्वर पन्त, सागर खतिवडा, हरिमाया खतिवडा, राज कपुर, सुशील गौतम, राम थापा, अनुभव थपलिया, शान्ता थापा लगायतका कलाकारले साङ्गीतिक कोसेली प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया