अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१६ | Colorodo: 01:31

आइतबारदेखि सुपथ मूल्य पसल संचालन हुने

बिआरटीनेपाल २०७६ भदौ २१ गते ०:२२ मा प्रकाशित

सरकारले आइतबारदेखि सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं र तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर भाद्र २३ गतेदेखि सुपथ मूल्य पसल संचालन गर्न लागेको हो ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रवारको बैठकमा विभागमा महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सुपथ पसल संचालन गर्ने निर्णय भएको बताउनु भयो । सुपथ पसल संचालनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गरिसकेको छ ।

विभागले यस वर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिने व्यवस्था गरेको छ । त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलमार्फत गर्न लागिएको विभागका महानिर्देशक गौचनले जानकारी दिनुभयो ।

विभागले चाडपर्वका बेला कालाबजारी हुन नदिन बजार अनुगमनको कामलाई तीव्रता दिइएको दावी गरेको छ । महानिर्देशक गौचनले बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा अर्को साताबाट ८ वटा टोली परिचालन गर्न लागिएको समितिलाई जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यले बजार अनुगमनको काम गर्न नसकेको भन्दै सरकारको चर्काे आलोचना गरेका थिए । समितिकी सदस्य सुजाता परियारले बजार अनुगमन गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गर्नुभयो । उहाँले तीजमा सारी किन्दा आफै ठगिएको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न किन प्रभावकारी कदम चाल्न नसकेको ? भनि सरकारलाई प्रश्न गर्नु भयो ।

समितिका अर्का सदस्य दिलकुमारीले बजारमा खाद्य बस्तुहरुको मूल्य दोब्बर हुँदा पनि सरकारले ती विक्रेताहरुलाई कारबाही गर्न नसकेको उल्लेख गर्दै आपत्ति जनाउनु भयो । उहाँले बजार अनुगमन गरेर बस्तुको विक्री मूल्य सुपथ बनाउन सरकारलाई सचेत गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू