अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’, कैदीको बयान जेलबाटै लिन सकिने

बिआरटीनेपाल २०७६ भदौ २१ गते ०:१९ मा प्रकाशित

मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले बयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो ।

केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन पाउने जानकारी दिनुभयो । “सबै अदालतमा उक्त सेवा शुरु भएपछि कारागारभित्र रहेको भिडियो कन्फरेन्स सेवाको सुरुआत हुन्छ”, उहाँले भन्नुभयो ।

सबै कारागारमा सिसी क्यामरा र विद्युतीय हाजिरको शुरुआत गरेको कारागार व्यवस्थापन विभागले केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, महोत्तरी, झुम्का सुनसरी, सङ्खुवासभा, तुल्सीपुर, रामेछाप र इलाम कारागारमा भिडियो कन्फरेन्सिङ सेवा जडान गरेको हो । विभागका सूचना अधिकारी वासुदेव घिमिरेले सबै कारागारमा भिडियो कन्फरेन्स सेवा जडान गर्ने विभागको योजना रहेको बताउनुभयो ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । उक्त कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेका छन् । केन्द्रमा एक हजार ९१०, भद्रमा ८३२, महिला जेलमा ३७८ र चार नाबालक रहेको कारागार प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू