अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५१ | Colorodo: 12:06

अमेजन रेनफरेस्ट जोगाउने सम्बन्धी सम्झौतामा ब्राजिलसहितका सात देश सहमत

बिआरटीनेपाल २०७६ भदौ २१ गते ०:१८ मा प्रकाशित

दक्षिण अमेरिकाका सात देश अमेजन रेनफरेस्टको संरक्षणका लागि एकीकृत प्रयास गर्न सहमत भएका छन्। अमेजन रेनफरेस्टमा लागेको भीषणा आगलागी र त्यसमा विश्वव्यापी रुपमा व्यक्त भएको चासो र चिन्ताको परिवेशमा सात दक्षिण अमेरिकी देश जंगल संरक्षणका लागि सक्दो प्रयास गर्न सहमत भएका हुन् । बोलिभिया, ब्राजिल, कोलम्बिया, इक्वेडर, गायाना, पेरु र सरिनामले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

उनीहरुले अमेजन रेनफरेस्टको अवस्था निगरानी गर्नका लागि डिजास्टर रेस्पोन्स नेटवर्क र स्याटेलाइट मोनिटरिङ्ग गर्ने गरी सहमति गरेका हुन्। कोलम्बियामा भएको सम्मेलनमा यी देशबिच वृक्षारोपण गर्ने सम्बन्धमा पनि सहमति भएको छ । अमेजन रेनफरेस्टमा यो वर्ष ८० हजार भन्दा बढी डढेलोका घटना भएका छन् ।

कोलम्बियाका राष्ट्रपति इभान डुकेले भन्नुभएको छ , ‘अमेजन रेनफरेस्टसँग जोडिएका राष्ट्रका राष्ट्रपतिहरुको सहकार्य गर्ने मेकानिजमका रुपमा यो बैठक जीवित रहने छन् ।’यस्तै पेरुका राष्ट्रपति मार्तिन विज्काराले अमेजन रेनफरेस्ट जोगाउने कार्य अब एक्लै सम्भव नरहेको र त्यसका लागि सहकार्यको सुरुवात भएको बताउनुभयो । सम्मेलनमा सात देशका राष्ट्रपति, उपराष्ट्रपति र मन्त्रीहरुको सहभागिता थियो । सम्मेलन शुक्रबार सम्पन्न भएको हो ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो भने शल्यक्रियाका कारण सम्मेलनमा सहभागी हुनुभएन । तर उहाँले भिडियो लिंक मार्फत छलफलमा सहभागीता जनाउनुभएको थियो । सात देशबिच सचेतना तथा शैक्षिक अवस्था सुधार गर्ने तथा वन संरक्षणमा आदिवासी समुदायका भूमिका बिस्तार गर्ने सम्बन्धमा पनि सहमति बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू