अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

विवादित विधेयक फिर्ता भएपनि रोकिएन हङकङमा प्रदर्शन

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:४३ मा प्रकाशित

हङकङकी नेतृ क्यारी लामले विवादित सुपुर्दगी विधेयक फिर्ता लिएको घोषणा गरेपछि पनि प्रदर्शन भने रोकिएको छैन । नेतृ लामले शुक्रबार हङकङको शान्ति र स्थिरताका लागि विधेयक फिर्ता पहिलो खुड्किलो भएको बताउनुभएको थियो । उहाँले विगतका साताहरुमा भएका केही हिंसात्मक प्रदर्शनमा भने सहमत हुन नसकिने उल्लेख गर्दै आउनुभएको छ ।

तर, शुक्रबार साँझ हङकङको एसियन फाइनान्सियल हबमा सयौं प्रदर्शनकारीहरु जम्मा भएका छन् । उनीहरुले शुक्रबार राति प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ । केही दिनदेखि रोकिएको प्रदर्शन फेरि हुन लागेको हो । आजको प्रदर्शनका क्रममा उनीहरुले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने यातायात अवरुद्ध गर्ने उद्देश्य रहेको बताइएको छ । लामले विधेयक फिर्ता लिए पनि केही मागहरु सम्बोधन गर्न असफल भएको प्रदर्शनकारीहरुको आरोप छ ।

शुक्रबार चीनको दक्षिणी प्रान्त गुआन्सी भ्रमणमा जाने क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हङकङमा बढ्दै गइरहेको विवादलाई समाधान गर्न पहिलो खुड्किलो पार गरेको र बाँकी चार मागहरु पनि चाँडै सम्बोधन गरिनेछन् । हामी तत्काल हिंसात्मक गतिविधि हुन दिनेछैनौं ।“

लामले बुधबार विधेयक फिर्ताको घोषणा गर्नुभएको थियो । चीनको समर्थन पाएकी नेतृ लामले केही प्रदर्शनकारीहरुले कानुनको उल्लंघन गर्दै हिंसात्मक गतिविधिमा संलग्न भएको पाइएकोले उनीहरु विरुद्धको मुद्दा खारेज गर्न नसकिनेसमेत दाबी गर्नुभएको थियो । हङकङमा तीन महिनासम्म लगातार सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् । यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच कैयौंपटक हिंसात्मक झडपसमेत भएका थिए । यस्ता हिंसात्मक गतिविधि बढ्दै गएपछि अन्तर्राष्ट्रिय समुदायले समेत चासो व्यक्त गरेका थिए । यही क्रममा शुक्रबार जर्मनकी चान्सलर एन्जेला मर्केलले बेइजिङमा मन्त्री ली किसेङसँगको भेटका क्रममा हङकङका विषयमा शान्तिपूर्ण समाधान आवश्यक भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू