अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

एसिया कप क्रिकेटमा नेपाल श्रीलंकासँग पाँच विकेटले पराजित

बिआरटीनेपाल २०७६ भदौ २० गते ७:४१ मा प्रकाशित

एसिसि यू–१९ एसिया कप क्रिकेटमा नेपाल घरेलु टोली श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । समूह बी अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल टेष्ट मान्यताप्राप्त श्रीलंकासँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १६० रनको लक्ष्य ३३.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाउँदै श्रीलंका विजयी भएको छ । श्रीलंकाको विजयी सुरुआतमा कमिल मिश्राले अर्धशतक बनाए । ६२ बलको सामना गरेका मिश्राले ३ चौका र २ छक्काको मद्दतमा ५५ रन बनाएका थिए । उनी रासिद खानको बलमा भिम सार्कीमार्फत् क्याच भए । अहान विक्रमसिंघेले ३० रनको योगदान दिए । ३६ बलमा २ चौका प्रहार गरेका अहान पवन सराफको बलमा भिममार्फत् नै क्याच भएका थिए ।

रसन्था डि सिल्भाले १५ रन बनाउँदा नाभोद पारानाभिथानाले १२ रन बनाए । रसन्था बोल्ड हुँदा नाभोद क्याप्चर भए । कप्तान निपुन धनन्जयले १८ रन बनाए । अविष्का थारिनदुले अविजित २५ तथा चामिन्डुले १ रनको जोडे ।

नेपालका रासिद खानले २ विकेट लिँदा सागर ढकाल, पवन सराफ र कमलसिंह ऐरीको नाममा १–१ विकेट रह्यो । यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । वर्षाले ४२ ओभरमा घटाइएको खेलमा नेपालका लागि रित गौतमले अर्धशतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान रोहित कुमार पौडेल अर्धशतक बनाउन ३ रनले चुकेका थिए । अन्य ७ खेलाडीको प्रदर्शन सम्झनलायक रहेन ।

८६ बलको सामना गरेका रित ५४ रनमा नाभोदको बलमा दिलसन मादुशंकामार्फत् क्याच भएका थिए । ४७ रन बनाएका कप्तान रोहित आसियन ड्यानियलको बलमा क्याच भएका भए । सुरुआती दुई विकेटपछि दबाबमा परेको नेपालको इनिङ्स रित र रोहितले उकासेका थिए । पराजित नेपालले अब समूहको अर्को खेल आइतबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया