अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३५ | Colorodo: 01:50

त्रिभुवन  विश्वविद्यालय नेपाली विभागमा  गुटबन्दी : बिभागीय प्रमुख नियुक्तिमा उपकुलपतिको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै वरिष्ठ प्राध्यापकहरुद्वारा राजीनामा

बिआरटीनेपाल २०७६ भदौ १९ गते २३:२७ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा विभागीय प्रमुखको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ प्राध्यापकहरुले राजीनामा दिएका छन् । विभागका वरिष्ठप्राध्यापक डा. महादेव अवस्थी र प्रा. डा. मोतीलाल पराजुलीले राजीनामा दिनुभएको हो ।  अवस्थीले आइतबार र पराजुलीले मंगलबार राजिनामा बुझाउनुभएको हो ।

त्रिबि नेपाली विभागका तत्कालीन प्रमुख प्रा.डा. देवीप्रसाद गौतमले अवकाश पाएसँगै रिक्त पदमा त्रिविले वरिष्ठ प्राध्यापकलाई प्रमुख नबनाई कनिष्ठ  कृष्णप्रसाद घिमिरेलाई विभागीय प्रमुखको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले धमाधम राजीनामा दिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलका अनुसार उप कुलपति सुधा त्रिपाठीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ प्राध्यापकहरुले राजीनामा बुझाएका हुन् ।

शैक्षिक रूपमा अब्बल हुँदाहुँदै पनि वरिष्ठ प्राध्यापक हरुको क्षमता र कार्यअवधिलाई ध्यानमा नराखी विभागीय प्रमुखको जिम्मेवारी दिएपछि उनीहरूको असन्तुष्टि बाहिरिएको हो ।

त्रिपाठी निमित्त उपकुलपतिमा नियुक्त भएपछी उहाको कार्यशैली प्रति प्राध्यापकहरू असन्तुष्ट रहेको स्रोतले बताइएको छ ।

वर्षौंदेखि अध्यापन गराइरहेकालाई भन्दा पनि विभागको बारेमा जानकारी नभएकालाई ल्याएर प्रमुख बनाएपछि अपमानित ठानेर आफूले राजीनामा दिएको प्राध्यापक पराजुली बताउँनुहुन्छ ।

प्रा.डा. महादेव अवस्थीले पनि विश्वविद्यालयमा हुनपर्ने प्राज्ञिक वरिष्ठता कायम हुन नसकेपछि अपमानित महसुस गरेर आफूले राजीनामा दिएको प्रतिक्रिया दिनुभयो । अवस्थी र पराजुलीले राजिनामा दिए संगै अन्य प्राध्यापकहरुले समेत राजीनामा दिने सोच बनाएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू