अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

साना उद्योगीका उत्पादनको मार्केटिङमा सघाउछौं: नव नियुक्त महावाणिज्यदूत

बिआरटीनेपाल २०७६ भदौ १९ गते १२:०२ मा प्रकाशित

काठमाडौँ । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूले लघु, घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका बस्तुहरूको अन्तर्राष्ट्रिय मार्केटिङमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित बस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उनीहरूले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले महासङ्घको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरूका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूसँगको स्वागत तथा भेटघाटमा उनीहरूले आफूहरूले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र बस्तुहरूको बजारीकरणमा सघाउने बताएका हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै नेपाल सरकारले चीनको बेइजिङ तथा ग्वाङगझाउका लागि नियुक्त महावाणिज्यदूत छविन्द्र पराजुलीले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा रहेका साना उद्योगहरूको योगदानलाई बिर्सन नहुने बताउनुभयो । आफूहरू लघु, घरेलु तथा साना उद्योगीहरूकै प्रतिनिधि भएर कार्य क्षेत्रमा खटिने भन्दै उहाँले यस्ता उद्योगहरूको उत्पादकत्व र क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।

भारतका लागि नवनियुक्त पर्यटन दूत निता पोखरेलले झन्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगहरूको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्ने आफूहरूको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष श्याम प्रसाद गिरीले नवनियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरूलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार वृद्धि गर्न, त्यहाँका बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भित्र्याउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।

मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादन मूलक उद्यम व्यवसायको प्रवर्द्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरूको विकास र प्रवर्द्धन गर्न आवश्यक भएकोमा उहाँले जोड दिनुभयो । यस्ता उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारीकरणका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने महावाणिज्यदूत र पर्यटनदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कूटनीतिको भूमिका खेल्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । 

प्रतिक्रिया