अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४३ | Colorodo: 17:58

अमेरिकाले हुवावेमा साइबर हमला गरेको आरोप

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:२० मा प्रकाशित

चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले अमेरिकी सरकारमाथि आफ्नो व्यापारलाई सबै तरिकाले अवरुद्ध गर्न खोजेको आरोप लगाएको छ । मंगलबारको प्रेस विज्ञप्तिमा कम्पनीले अमेरिकाले आफ्ना नेटवर्कहरुमा साइबर हमला गरि कर्मचारीहरुलाई धम्क्याएको उल्लेख गरेको छ । यसरी अझै अमेरिकाको कालोसूचीमा रहेको हुवावेले उक्त आरोप सम्बन्धी हाल कुनै प्रमाण प्रस्तुत गरेको छैन ।

अमेरिका र चीनबीच जारी व्यापार युद्धमा हुवावे पनि केन्द्रमा रहँदै आएको छ । कम्पनीका अनुसार अमेरिकाले अवैध ढङ्गमा आफ्ना कर्मचारीहरुलाई गैरकानुनी रुपमा हिरासतमा लिएको र आफ्नो आन्तरिक सूचना प्रणालीमा जबरजस्ती प्रवेश गर्न साइबर हमला समेत सुरु गरेको आरोप लगाएको छ । यसका साथै अमेरिकाले हुवावेका कर्मचारीहरुबाट जानकारी संकलन गर्न दबाब दिँदै घरमै एफबीआइ एजेन्टहरुलाई पठाएको समेत बताएको छ ।

कम्पनीले आधिकारिक बयानमा भनेको छ, “अमेरिकी सरकारद्वारा हुवावेलाई बदनाम गर्ने प्रयास र प्राविधिक उद्योगमा कम्पनीको नेतृत्व अवरुद्ध गर्ने प्रयासको हामी कडा विरोध गर्दछौँ ।” अमेरिकी अधिकारीहरुले यस सम्बन्धी हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । वास्तवमा केही समय अगाडि मात्र संचार एजेन्सी वाल स्ट्रिट जर्नलले एक रिपोर्टमा स्मार्टफोन क्यामरा उपकरण चोरीको मुद्दामा अमेरिकी न्याय विभागले हुवावेमाथि अनुसन्धान गरिरहेको जनाएको थियो । जसको जवाफमा हुवावेले सबै आरोप गलत रहेको ठहर गरिसकेको छ । यसरी विश्वका दुई ठूला अर्थतन्त्रः चीन र अमेरिकाबीच हुवावे संघर्षरत् शक्तिका रुपमा देखिँदै आएको छ ।

अमेरिकाले बारम्बार हुवावे राष्ट्रिय सुरक्षाका निम्ति खतरनाक रहेको दाबी गर्दै आएको छ र गत मे महिनामा मात्र यसको व्यापारलाई कालो सूचीमा राखेको हो । यति मात्र नभएर अमेरिकाले आफ्ना मित्रराष्ट्रहरुलाई समेत हुवावेमाथि प्रतिबन्ध लगाउन दबाब दिइरहेको छ । बेइजिङले हुवावेमार्फत अन्य देशमा जासुसी गर्न सक्ने वासिङ्टनले चेतावनी दिएको हो । अर्कोतर्फ हुवावेले भने पटकपटक आफू स्वतन्त्र कम्पनी भएको र चिनियाँ सरकारसँग कुनै संलग्नता नरहेको स्पष्ट पार्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू