अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

व्यापार वार्ता गर्न चीन र अमेरिका सहमत

बिआरटीनेपाल २०७६ भदौ १९ गते ८:१५ मा प्रकाशित

चीन र संयुक्त राज्य अमेरिकाबीच उच्चस्तरीय व्यापार वार्ता गर्ने सहमति भएको छ । दुई देशको व्यापार युद्धले विश्वव्यापी अर्थतन्त्र नै ओरालो लाग्ने त्रास फैलिरहेको समयमा आगामी अक्टोबरमा उच्चस्तरीय व्यापार वार्ता गर्ने सहमति भएको हो ।

दुवै देशबीच वार्ता गर्ने सहमति बिहीबार चिनियाँ उपप्रधानमन्त्री ली यू हे र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीचर तथा अमेरिकी वित्तमन्त्री स्टेभेन मनुचिनबीच फोनमार्फत् जुटेको चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ । उनीहरुसँगै चिनियाँ केन्द्रीय बैंकका गर्भनर यी ग्याङ पनि उक्त फोन कलमा सहभागी भएका थिए ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “दुवै पक्ष सँगै काम गर्ने र व्यवहारिक एक्सनमार्फत् सकारात्मक नतिजाका लागि काम गर्ने सहमति गरिनेछ । “दुवैतर्फका वार्ताटोलीका प्रमुखबीच बिहीबार बिहान वास्तवमै सकारात्मक कुराकानी भयो,” मन्त्रालयका प्रवक्ता गाओ फेङले भनका छन् , “अक्टोबरको पहिलो सातातिर हुने १३ औं उच्चस्तरीय वार्ताबाट ठोस प्रगति हासिल गर्न व्यग्र छौं ।”

गाओले बेइजिङ अहिले चलिरहेको व्यापार युद्धको विपक्षमा रहेको समेत बताएका छन् । अमेरिकी व्यापार कार्यालयका प्रवक्ताले पनि लाइटीजर र मनुचिनले लिउबीच फोनमा कुराकानी भएको पुष्टि गर्दै दुवै पक्ष मन्त्रीस्तरीय व्यापार वार्ताका लागि सहमति भएको जानकारी दिएका छन् ।

अक्टोबर पहिलो साता हुने चीन–अमेरिकाबीचको व्यापार वार्ताको समाचारले एसियन सेयर बजारमा सुधार आउनुका साथै विश्वव्यापी अर्थतन्त्रमा आउनसक्ने सम्भावित खतरा पनि टर्ने आँकलन गरिएको छ । आइतबारमात्रै अमेरिकाले चीनबाट आयातित सामग्रीमा १५ प्रतिशतसम्म कर बढाउने निर्णय गरेको थियो भने चीनले अमेरिकी कच्चा तेलमाथिको निगरानी बढाएको थियो । चीनले सोमबार अमेरिकाको उक्त निर्णयविरुद्ध विश्व व्यापार संगठनमा उजुरी दिएको थियो ।

अमेरिकाले २५९ बिलियन अमेरिकी डलरभन्दा बढीका आयातित चिनियाँ उत्पादनमा अक्टोबर १ देखि ३० प्रतिशतसम्म कर बढाउने योजना बनाएको थियो । मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले दोस्रो चरणको वार्ताको समय लम्ब्याएमा आफू कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभएको थियो । राष्ट्रपति ट्रम्पको यस्तो चेतावनीपछि अमेरिका र चीनबीचको व्यापार युद्ध थप बढ्ने अनुमान गरिएको थियो ।

चिनियाँ नेताहरुले अक्टोबर १ मा राष्ट्रिय दिवस मनाउने भएकोले आगामी महिनाका लागि वार्ताको मिति सारिएको बताइएको छ । चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार चीनले आगामी महिना नै सरकार सञ्चालनमा सुधार गर्ने र मुलुकको समाजवादी प्रणालीलाई थप सुदृढ गर्न नेताहरुबीच उच्चस्तरीय बैठक बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू